arrow

नगर प्रमुखलाई कोरोना लागेपछि सबै सेवा बन्द

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
Bardaghat_Nagarpalika.png

परासी । नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो । 

नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ । 

कोभिड नियन्त्रण र नागरिकको सेवामा  निरन्तर खटिरहेका अवस्थामा नगर प्रमुख बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएकामा नगरपालिकाले स्वास्थ्यलाभको कामना  गरेको छ । कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा रहेको तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

 नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले बुधबारदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठनपाठन बन्द गर्न निर्देशन दिइएको हो । 

विद्यालयमा गरिने सिकाइ सहजीकरण बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सञ्चालन गर्न आग्रह गरिएको नगर शिक्षा अधिकारी इन्द्रबहादुर कुँवरले बताए । कक्षा ११ का हकमा भने यो आदेश लागू हुने छैन । 

सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताए । 

सरावल गाउँपालिकाले पनि  महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । यससँगै केही समयदेखि सञ्चालनमा आएका विद्यालय  फेरि बन्द हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ