arrow

चराकै नाम भो ‘ताक्लाकोट’ : नेताले त ढाँटे ढाँटे, उपप्रधानमन्त्रीले झन् आफ्नैलाई ढाँटे

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ जेठ १७ सोमबार
taklakot-new.jpg.jpeg
बझाङ ।  छिमेकी चीनसंग जोड्ने सुदूर तथा मध्यपश्चिमको सबै भन्दा छोटो व्यापारिक विकासको प्रमुख केन्द्र भनिएको ताक्लाकोट नाकालाई  सरकारले बजेमा नसमेटेको भन्दै सुदूरका स्थानीय आक्रोशित भएका छन् । उनीहरुले राजनीतिक दलका उच्च नेता तथा सरकारको नियतिप्रति खेद जनाएका हुन् । नीति तथा कार्यक्रममा ताक्लाकोट पुर्नपर्नेमा यहाँका स्थानीयको एक मत छ । 
 
स्थानीयले चीनसंग जोड्ने नेपालको सबै भन्दा छोटो र सहज  नाका ताक्लाकोटका बारेमा सरकारले उदासिनता देखाएको गुनासो समेत गरेका छन् ।  बझाङ सदरमुकाम चैनपुर बाट ८२ किलो मिटर रहेको ताक्लाकोट नाकाका बारेमा राजनीतिक दलका नेताले पटक–पटक आश्वासन दिने गरेपनि सरकारको  सार्वजनिक बजेटमा परेन ।  बझाङबाट संविधान सभामा प्रतिनिधित्व गर्ने प्राय सत्ताधारी एमालेकै सांसद छन् । यस्तै, सुपकै मन्त्रीहरुको पनि वर्तमान केपी ओली सरकारमा भीड छ । तर स्थानीयले गरेको आशा तुसारापात भएको छ । 
 
शनिबार मात्रै अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ताक्लाकोट परेन ।  सरकारका उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले पाँच महिना अघि मात्रै बझाङ आउदा ताक्लाकोट नाका लाई सरकारले यस वर्षको नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राख्ने आश्वासन बाँडेका थिए । 
 
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सुदूर तथा मध्य पश्चिमको समृद्घीको आधार ताक्लाकोट नाका भएकाले यसलाई खोल्नका लागि आफुहरुले पहल गर्ने बाचा गरेर गए । माओवादी अध्यक्ष पुस्पकमल दाहाल, नयाँ शक्तिका बाबुराम भट्राई र नेकपा एमालेका सचिव ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिहं लगायतका उच्च स्तरका नेताहरुले सुदूरपश्चिमको विकासको आधार ताक्लाकोट नाकालाई खोल्न आफुहरु सक्रिय भएर लाग्ने उद्घोष गरेकै हुन् । अहिले सबैले आफ्ना उद्घोषहरु विर्सिएका छन् ।
 
यस क्षेत्रमा आउँदा जहिले पनि ताक्लाकोट नाकाकोबारेमा बोलेर नागरिकको ताली खाने नेताहरुले अहिले गाली खाने स्थिति आएको छ । जनताका अघि प्यारो हुन चिल्ला भाषण गर्ने भएपनि सरकारको नीति तथा कार्यक्रममा नसमेटिनु दुर्भाग्य भएको स्थानीय ज्ञान बहादुर बोहराले बताए ।  बोहराले भने, ‘सरकारले सुदूरपश्चिमको विकासको मेरुदण्ड रहेको ताक्लाकोट नाकाका बारेमा सरकार बेखबर हुनुले यस क्षेत्रका बासिन्दाहरुमा निरासा छाएको छ ।’ 
 
चीनको स्वसाशित क्षेत्र तिब्बतसंग दक्षिण एसियालाई जोड्ने नेपालको सबै छोटो र सहज व्यापारिक ताक्लाकोट नाका खोल्न स्थानीय क्षेत्रबाट वर्षौदेखि पहल गरिदै आएको भएपनि हालसम्म सरकारले आफनो बजेट भाषणमा समेत नसमेट्दा यस क्षेत्रका स्थानीय बासीहरुको आशा अन्तत: निरासामा परिणत भएको छ । स्थानीय समाजसेवी विरेन्द्र खड्काले सरकारले ताक्लाकोट नाकालाई विर्सेको बताए । 
 
उनले ताक्लाकोट नाका, खप्तड क्षेत्र, बझाङ्मा बन्द रहेको हवाई मैदान खोल्न सरकारले पहल गर्नु पर्ने भएपनि त्यसो हुन नसकेकोमा दुःख प्रकट गरे । धनगढीबाट बझाङ सदरमुकाम चैनपुर सम्म २ सय ६७ किलोमिटर कालोपत्रे भएको भएपनि सदरमुकाम चैनपुर बाट १८ किलो मिटर धमेनाको रुवातोला सम्म १८ किलो मिटर गाडी गुडिरहेका छन् ।  
 
यद्यपि, ताक्लाकोट सम्म ६४ किलो मिटर मात्र सडक बनाउनु पर्ने छ । तराइको धनगढीबाट चीनको स्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट सम्मको सडक दुरी ३ सय ४० किलो मिटर छ । ताक्लाकोट नाका खोलेपछि कैलास मानसरोबरको लागि धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । ताक्लाकोट नाका खुले यस क्षेत्रको विकासको मूल ढोका खुल्ने  स्थानीय समाज सेवीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ