arrow

सहिदकी श्रीमती ताक्नेहरु र भ्रष्टाचारीलाई केपी ओलीको संरक्षण रहेको आरोप(भिडियो)

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रेहका अध्यक्ष केपी शर्मा ओलीले ‘खराब आचरण भएकाहरुको गुरु’भएको समेत आरोप लगाएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा नारायण पौडेलसँग अन्तर्वार्ता दिनेक्रममा नेता नेपालले पार्टीभित्र अनुशासनहीन, उदण्ड र खराब आचरणका व्यक्तिहरुको संरक्षण गरेको आरोप लगाएका हुन। 
 
नेपालले पार्टीको मुल नेतृत्वको चरित्र नै उदण्ड भएकाले पार्टीमा उदण्डहरु हाबी हुन खोजेको बताए। उनले दुई नम्बरी काम गर्ने, खराब आचरण भएका, सहिदकी श्रीमती ताक्नेहरुको बोलवाला चल्न थालेको टिप्पणी गरे। ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ। अर्काकी श्रीमती ताकेको छ। सहिदकी श्रीमतीमाथि ताकेको छ’, शुक्रवार दिएको अन्तर्वार्तामा नेपालले भनेका छन्, ‘हेर्नुहोस् त फेसबुकमा लेखेको उदण्डहरुको जमातले। जस्तो सिकाइएको छ। त्यस्तै चेलाहरु छ। जस्तो गुरु, त्यस्तै चेला।’ नेपालले ओलीको कटु बोलीतर्फ संकेत गर्दै पार्टीमा बिनम्रता हराएको बताएका हुन्।
 
दिनभर रक्सीको घ्याम्पोमा डुब्ने, बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने? 
नेता नेपालले ओलीसँग निकट रहेकाहरुले पार्टीमा मनपरी चलेको आरोप लगाए। बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने र त्यस्ताहरुलाई संरक्षण गर्ने काम भइरहेको उनको आरोप थियो। ‘बलात्कारीको गाडी चढेर हिंड्नुहुन्छ। भ्रष्टाचारीको गाडी चढेर हिंडुनुहन्छ। उनीहरुलाइ पुरै छुट दिनुहुन्छ’, नेपालले भने । यस्तै पार्टीभित्र चौबीसै घण्टा जाँड रक्सीमा चुर्लुम्म डुबेर हिंड्नेहरुलाई प्रोत्साहन गरिएको पनि उनले आरोप लगाए।
 
विद्यार्थीलाई पढ्न होइन, मारमुंग्री गर्न सिकाइयो
नेता नेपालले ओली पक्षका नेताले विद्यार्थीलाई पढ्न नभई मारमुंग्री गर्न सिकाउने गरेको समेत आरोप लगाए। बुद्धले कहिल्यै नपढेको तर्क गर्दै विद्यार्थीलाई भड्काउने गरिएको बताए। विद्यार्थीलाई चोरी, ठेकेदारी, दुई नम्बरी र तर्साएर पैसा संकलन गर्ने काम गर्न सिकाइएको दाबी गरे। ‘विद्यार्थीलाई आफूभन्दा ठूलालाई कदर र सानालाई माया गर्ने, सबैको कदर गर्ने, बिनम्रा हुने, काम गर्ने प्रवृत्ति सिकाउनुपर्छ’, उनले भने, विद्यार्थीलाई पढ्न हुँदैन मारमुँग्री गर्नुपर्छ भन्ने शिक्षा दिइएको छ।’
 
नेता नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेताहरुमा स्वाभीमान नभए ती कम्युनिष्ट नभएर दास हुने बताए। चाकडी गर्ने, चाप्लुसी गर्ने, नेतृत्वको अन्ध प्रशंसा गर्ने, देवत्वकरण गर्ने प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति नभएको उल्लेख गरे। पार्टीभित्र आफ्नो अस्तित्व र विशेषता नभएका केही नेताहरु नेतृत्वको दास बन्ने प्रवृत्तिका रहेको भन्दै उनले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले त्यस्तो कहिल्यै नसिकाउने बताए। दुई नम्वरी गर्नेहरुलाई पनि प्रश्रय दिएको उनको भनाई छ। 
 
पार्टीभित्र ज्वालामुखी विस्फोटको अवस्थामा पुगेको नेता नेपालको विश्लेषण छ। पार्टीभित्र यस्तो अवस्था धेरै दिन जान सक्दैन उनको भनाई छ। अन्तर्वार्ताको भिडियो यहाँः 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ