काठमाडौं । व्यवस्थापिका संसद हाँसो मजाक गर्ने र ख्याल ठट्टा गर्ने थलो बन्यो । सत्ताधारीहरु कत्तिपनि जिम्मेबार भएनन् । हामीले ‘बजेट भाषण अपरान्ह गर्ने अनि पत्रपत्रिकामा बिहानै बजेट सार्वजनिक गर्ने’ यस कदमविरुद्ध आवाज उठाएका हौं । संसद खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो बन्नु भए न नि ! हामीले बैठकको सुरुमै छानविन समिति गठनको माग गर्दा सभामुखले रुलिङ गर्न सक्नु भएन । उल्टै केटा–केटीले खेले जस्तो १ जनालाई बोल्न दियो बैठक स्थिगित, अर्कोलाई बोल्न दियो बैठक स्थगित ।
पटक–पटक त्यसो गर्न सुहाएन । सरकार जिम्मेवार भएन । हामीले बजेट पास गर्न नदिने नियत राखेका होइनौं । बजेटमा छलफलै हुन नदिने भन्ने कुरै हुँदैन । कांग्रे सचेतक एवं सांसद ईश्वरी न्यौपानेले चौथो पटक बैठक स्थिगित भएपछि हाम्राकुरासंग भनिन् । सचेतक न्यौपानेले सके सम्म आफुहरुले छलफल चलाउन चाहेको बताइन् । तर सरकारले आफुहरुले राखेको मागबारे कुनै प्रतिक्रिया नदिएपछि अवरोध भएको जानकारी उनले दिइन् ।
संविधानले व्यवस्था गरे अनुसार जेठ १५ मै बजेट आएको छ, उनले थपिन्, ‘तर संसदीय मर्यादालाई पालना गर्ने कि नगर्ने, यो संसदको विशेषाधिकारको कुरा हो । बजेट सुन्ने पहिलो अधिकार हामी सांसदको हो । हामी बजेटको पहिलो स्रोता हौं । हामीलाई सुनाउनु अघि चीज बजारमा बेचेर आउने काम भयो । यस्तो संसारमा कँही हुँदैन ।’ बेलायतमा सन् १९४७ मा बजेट प्रस्तुत हुनु २० मिनेटअघि बजेट सार्वजनिक हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपरेको उनले सुनाइन् ।
संसदमा समेत रामशरण महत, रमेश लेखक, महेश आचार्य र न्यौपाने स्वयं बोल्दा यही तथ्य पेश गरेका थिए । हिजो रामशरण महतले बजेट पेश गर्दा समेत केही पत्रकारले तथ्यहरु मिलाई समाचार लेखे, त्यो बेला त यस्तो हंगामा भएन त ? जवाफमा न्यौपानेले भनिन्, ‘त्यो यस्तो भएको थियो रे भन्ने कुराहरुको आधार छैन । यदी हो भने त्यसबेला नियमापत्ति गर्नु पथ्र्यो । जसरी हामीले भरतमोहन अधिकारीले बजेट पेश गर्न खोज्दा अर्थ मन्त्रालयको वेवसाइटमा बजेटको विवरण राखेको भन्दै नियमापत्ति गरेपछि तत्कालिन सभामुख सुभास नेम्वाङले बजेट भाषण रोक्नु भएको थियो ।’ पछि छानविन समिति बनेर प्रतिवेदन बन्दा आगामी दिनमा यस्तो नगर्ने भन्ने प्रतिवद्धता आएको थियो ।
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समेत आफुहरुले बजेट सार्वजनिक भएकै कारण संसदमा अवरोध गरेको बताए । निकैबेर हाँसेर हाँसो थामिएपछि श्रेष्ठले हाम्राकुरासंग भने, ‘अब त सरकारले छानविन समितिका लागि केही गर्ला । सकभर अब फेरि पनि संसदमा हंगामा गर्नु नपर्ला नी ! ।’ बिहान पत्रिकामा बजेट आएपछि दिउँसो भाषण गर्न संसदीय मर्यादानुसार सुहाएन ।
त्यसअघि संसदमा बोल्दै पूर्वअर्थमन्त्री एवं सांसद रामशरण महतले बजेट छाप्ने पत्रिका देखाउँदै लेखिएको बेहोरा समेत पढेर सुनाए । उनले भने, ‘यसले संसदको मान हानी हुन्छ कि हुँदैन । संसदका मूल्य मान्यताहरुको मान हानी हुन्छ कि हुँदैन ।’ यसअघि पनि अर्थमन्त्रालयको बेवसाइटमा राखिएको घटनाले समेत हामीलाई सचेत गराइसकेकामा फेरि घटना दोहोरिनु राम्रो होइन ।
यस्तै, सांसद रमेश लेखकले हिजोका दिनमा संसदमा छानविन समितिले बुझाएको प्रतिवेदन अझै सुरक्षित होला र अब देखि यस्ता गल्ति नगर्ने भन्ने सहमति भएको थियो–भने । उनले थपे, ‘यहाँ त गजब के भयो भने, विगतका विभिन्न पाठहरुबारे जान्दा जान्दै पत्रिकामै बजेट सार्वजनिक भयो । संसदको विशेषाधिकारको खिल्लि उडाइयो ।’ जब सम्म छानविन समिति गठन हुँदैन तब सम्म संसद अगाडी बढ्न सक्दैन ।
पटक–पटक बस्यो, पटक–पठक रोकियो
नेपाली कांग्रेसले पटक–पटक अवरोध गरेपछि संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको छ । चौथो पटक सम्म कांग्रेस सांसदहरुले संसद बैठकमा अवरोध गरे । बिहान ११ बजे बोलाइएको बैठक कांग्रेस सांसदहरुले अवरोध गरेपछि पटक पटक गरी तीन पटक स्थगित भयो । कांग्रेस सांसदहरुले बजेट पेश हुनुअघि नै गोपनीयता भंग भएर संसदको विशेषाधिकार हनन भएको भन्दै छानबिनका लागि रुलिङ गर्न सभामुख ओनसरी घर्तीसँग माग गरे । तर, रुलिङ भएन ।
सरकारले बजेटबारे छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । बैठक सुरु हुने वित्तिकै पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद रामशरण महतले बोल्दै बजेटको गोपनीयता भंग भएकोबारे छानविन गर्न समिति गठनको माग गरे ।कांग्रेस सांसदहरु आफ्नो ठाउँबाट उठेपछि बैठक आधा घण्टाका लागि स्थगित भयो । आधा घण्टापछि फेरि बसेको बैठकमा कांग्रेस सांसद तथा केन्द्रीय सदस्य रमेश लेखकले बोले । त्यसपछि फेरि अवरोध भएपछि बैठक १ घण्टाका लागि स्थगित भयो ।
एक घण्टा वितेपछि साढे १ बजे फेरि बैठक बस्यो । त्यसपछि कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले बोलेपछि बैठक फेरि अवरुद्ध भयो । चौथोपटक बसेको बैठकमा कांग्रेस सचेतक इश्वरी न्यौपानेले बोलिन् । त्यसपछि कांग्रेस सांसदहरुले बैठक स्थगित गर्नु पर्नेगरी अवरुद्ध पारे ।