arrow

कांग्रेस पुनःनिर्माणको कामलाई गति दिन सरोकारवाला ब्यूँझाउँदै

logo
राजन परियार,
प्रकाशित २०७३ जेठ १७ सोमबार
Bhukampa-asar-Sindhu.jpg.jpeg
 सिन्धुली । भूकम्प पीडित आवास पुनःनिर्माण लगत संकलनमा प्राधिकरणको गम्भीर लापरवाहीका कारण पुनःनिर्माण अनुदान पाउने सूचीमा छुटेका वास्तविक भूकम्प पीडितहरुलाई समावेश गरी अनुदान वितरण तथा पुनःनिर्माणको कामलाई तत्काल अघि बढाउन माग गर्दै नेपाली कांग्रेस सिन्धुलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । 
 
गएको वर्ष वैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पले जिल्लामा बढी  धनजनको क्षति पुर्याएको भएपनि पीडितहरुलाई राहत वितरण तथा क्षतिको विवरण संकलन प्रक्रियामा सरकारले चरम लापरवाही गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकारको लापरवाहीका कारण पीडित परीवारहरुको अवस्था दिनानु दिन नाजुक बन्दै गइरहेकाले ज्ञापन पत्र मार्फत तत्काल पुनःनिर्माणको कामलाई अगाडी बढाउन माग गरिएको नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जव प्रसाद बरालले बताए । 
 
अघिल्लो तथ्याङ्क अनुसार जिल्लामा भूकम्प पीडितको परीचय पत्र पाउने पीडितहरुको संख्या २२ हजार १ सय ८६ रहेको थियो भने पछिल्लो पुनःनिर्माण लगत संकलनको क्रममा १२ हजार ७० थपिएर कुल ३४ हजार २ सय ५६ पुगेको छ । अघिल्लो पटक  १५ हजार र १० हजार अनुदान पाएका गाउँका हजारौं पीडितहरु आवास पुनःनिर्माण अनुदान पाउने सूचीमा समावेश भएका छैनन् भने हजारौं गैर पीडितहरु अनुदान पाउने सूचीमा समावेश हुन पुगेका छन् । जस्का कारण पुनःनिर्माण अभियानले गति पाउन सकेको छैन । कतिपय गाविसहरुमा घर जग्गा नै नभएकाहरु समेत २ लाख अनुदान पाउने सुचीमा समावेश रहेको तथ्यहरु समेत बाहिर आइरहेका छन् ।
 
पुनःनिर्माण प्राधिकरणले आफ्नो गल्ती स्वीकार गर्दै आवास पुनःनिर्माणको सम्झौता र गुनासो संकलन दुवै कार्यलाई सँगै अघि बढाउने बताएपनि अहिले सम्झौताको कार्य अघि बढ्न सकेको छैन । झागाँझोली रातमाटा, भुवनेश्वरी र सोल्पाठाना गाविसबाट सुरु भएको पुनःनिर्माण अभियान अन्तर्गत झागाँझोली रातमाटा गाविसका लाभकर्ता १ हजार २१ परिवार बाहेक अन्य गाविसमा सम्झौता कार्य समेत सुरु हुन सकेको छैन । हाल गाविस तथा नगरपालिका मार्फत गुनासो संकलनको कार्य भइरहेको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । 
 
अघिल्लो तथ्याङ्क अनुसार २ हजार ६ सय ३६ परीवारले राहत पाएको कमलामाई नगरपालिकामा आवास पुनःनिर्माण अनुदान पाउनेको संख्या वृद्धि भएर झण्डै दोब्बर ४ हजार ३ सय ९६ पुगेको छ । त्यस्तै भुवनेश्वरी गाविसमा अनुदान पाउनेको सख्या ४ सय ४२ बाट घटेर २ सय ४२ मा झरेको छ । अरुण ठाकुर गाविसमा अघिल्लो रेकर्ड अनुसार १ जनाले मात्र राहत पाएको भएपनि अहिले ६ सय ७५ जना २ लाख पुनःनिर्माण अनुदान पाउने सूचीमा रहेको तथ्याङक सार्वजनिक भएको छ । भूकम्पबाट बढी प्रभावित सुनकोशी गढतिर क्षेत्रका गाविसहरुमा पुनःनिर्माण अनुदान पाउनुपर्ने हजारौं वास्तविक पीडितहरुको नाम छुटेको छ भने भूकम्पबाट कम प्रभावित क्षेत्रका गाविसहरुमा अनुदान पाउनेका सख्या बढेको छ । 
 
प्राधिकरणले सार्वजनिक गरेको भूकम्प पीडित आवास पुनःनिर्माण तथ्याङ्क आफैमा हास्यास्पद रहेको जिल्ला स्थित राजनैतिक पार्टीका नेताहरुले बताउँदै आइरहेका छन् ।  भुकम्प गएको झण्डै १ वर्ष पछि करौडौ खर्च गरेर लगत संकलन गरिएको लगत सार्वजनिक भएपनि त्यो लगत हावादारी हुँदा जनताले पिडामाथि झन पिडा भोग्नु परेको नेपाल विद्यार्थी संद्य सिन्धुलीका सभापति उत्पल खड्का बताउछन् । 
 
जिल्लामा लगत संकलनका लागी विभिन्न् चरणमा १ सय ४६ जना इन्जीनियर र सोहि संख्यामा सामाजिक परीचालक परीचालन गरिएको जिल्ला तथ्याकं कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीमा मात्र तथ्याकं संकलनमा झण्डै १० करोड भन्दा बढी खर्च गरिएको श्रोतले बतायो । यति धेरै रकम खर्च गरेर संकलन गरिएको तथ्याकं सार्वजनिक हुन नपाउँदै विवाद सुरु हुनु र पिडितहरुले १३ महिना वितिसक्दा पनि टहरामै रात विताउन बाध्य हुनु सरकारको गम्भीर लापरबाहि रहेको नेपाली काग्रेस सिन्धुलीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ