arrow

डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक विस्तार र स्तरोन्नती गर्न कांग्रेस डडेल्धुराको आग्रह

logo
राम धामी,
प्रकाशित २०७७ असोज २९ बिहिबार
dadheldhura1.jpg

डडेल्धुरा । सडक क्षेत्रमा रहेका घरजग्गा धनीलाई मुआब्जा दिने विषयमा विवाद देखाएर पछिल्लो समय दुई पटक टेण्डर आह्वान गर्दै खारेज गरिएको डडेल्धुरा सदरमुकामस्थित बागबजार–किर्तीपुर सडक विस्तार र स्तरोन्नतीका लागी नेपाली कांग्रेस डडेल्धुराले प्रकृया अघि बढाउन आग्रह गरेको छ । 

नेपाली कांग्रेस डडेल्धुराको  पहलमा अमरगढी नगरपालिकासहित जिल्लास्थित सबै राजनितिक दलहरु सम्मलित सर्वपक्षीय, सर्वदलीय बैठकले  बुधबार सडक विस्तारका लागि प्रकृया थाल्ने निर्णय गरेको थियो । सर्वदलीय सहमतिमा सडकको बढ्दो चाप व्यवस्थित गर्ने अभिप्रायले गरिएको पहल स्वागत योग्य भएको बिहीबार विज्ञप्ती प्रकाशितगर्दै नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।  बैठकले सडक विस्तारका क्रममा पेचिलो बनेको मुआब्जाको बिषयलाई सम्बोधन गरेको कांग्रेस डडेल्धुराद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

नेपाली कांग्रेस डडेल्धुराले सडक क्षेत्रको केन्द्रविन्दुबाट १५-१५ मिटर दाँया बाँया विस्तार गरेर सडक स्तरोन्नतीगर्दै यस क्षेत्रको सौन्दर्यता र आवतजावतलाई सहजता पुग्नेगरि प्रकृया शुरु गर्न आग्रह गरेको छ । उक्त निर्णय यथासिघ्र चाडो कार्यान्वयनमा ल्याईयोस भनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै निर्णय कार्यान्वयनका लागी प्रतिबद्ध रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएकोछ ।

यस अघि तीन किलोमिटर सडक विस्तार गर्न डिभिजन सडक कार्यालय कुलपाते, डोटीमार्फत ४४ करोड बजेटको टेण्डर दुई पटक आह्वान गरेर खारेज गरिएको थियो । सडक क्षेत्र दाँया बाँया साढे सात-साढे सात मिटर फराकिलो बनाउने डिभिजन सडक कार्यालय कुलपातेको योजना थियो । ‘विगतमा नेपाली कांग्रेसले सडक विस्तारमा अवरोध गरेको भ्रामक सन्देश प्रवाह गरेर काम नगर्ने प्रवृती देखिएको हो,’ प्रेस विज्ञप्तीमा हस्तारक्षर गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादु्र मल्लले भने,‘अरुलाई दोष दिएर काम नगर्ने प्रवृतीलाई छोडेर सडक विस्तार प्रकृया थालनी गर्न अमरगढी नगरपालिकाको नेतृत्व र सत्तारुढ दललाई आग्रह गर्दछौं ।’

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्ला कमिटिले पत्रकार सम्मेलनको आयोजनागर्दै डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक विस्तार र स्तारोन्नती गर्न पहल थाल्ने जनाएको थियो । सत्तारुढ र प्रतिपक्षी दलहरु सडक विस्तारको पक्षमा रहेकाले राजनीतिक सहमति अनुसार प्रकृया शुरु गरिने अमरगढी नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ