सुनर्या गाउँपालिका अध्यक्ष बिष्टलाई सांघातिक आक्रमण गर्नेहरु सत्ताकै संरक्षणमा, प्रहरी निरीह
आक्रमणकारीहरुलाई नियन्त्रण लिएर कार्वाही गर्न कांग्रेसको माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
614
Shares
काठमाडौं। नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई असोज २८ गते सांघातिक आक्रमण गरि निर्घात रुपले कुटपिट गर्नेहरुलाई स्थानिय प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । गाउँपालिका केन्द्रको विषयमा विवाद हुँदा अध्यक्ष बिष्टलाई केहि अराजक समुहले सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाएका थिए । बिष्टको टाउकोमा गम्भिर चोट लागेको छ भने जीउमा पनि अनेक ठाउँमा चोट लागेको छ ।
गाउँपालिका अध्यक्ष बिष्टलाई गम्भीर घाइते बनाएको घटना भएको दुई दिन बितिसक्दा पनि विष्टलाई कुटपिट गर्ने आपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई राज्यले कार्वाही गर्ने तदारुकता नदेखाउँदा स्थानियहरुले आक्रोश पोखेका छन् । उनीहरुले सत्तारुढ नेकपाको संरक्षणमा आक्रमण भएका कारण आक्रमणकारीहरुलाई प्रसासनले बचाउन खोजेको बताएका छन्। सत्ताको छायाँमा परेर प्रहरी पनि निरिह बनेको स्थानियहरुले बताए।
नेपाली कांग्रेसले एक विज्ञप्ती निकाली घटनाको बिरोध जनाउँदै दुई दिनसम्म पनि आक्रमणकारीहरुलाई कार्वाही प्रक्रिया केहि अघी नबढाइएको गम्भिर आशंका समेत व्यक्त गरेको छ। कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आक्रमणलाई अत्यन्तै दुःखद घटनाका रुपमा कांग्रेसले लिएको जनाउँदै गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधि माथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।