arrow

झापामा सक्रिय संक्रमित पाँच सय नाघे, चाडबाडमा स्थानीय तहको यस्तो योजना

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
Jhapa_District.png

झापा । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहँदा झापा जिल्लामा पनि सकृय संक्रमितको संख्या पाँच सय नाघेको छ । हिन्दूहरुको महान पर्व बडादशैं नजिकिएसँगै किनमेलका लागि  स्थानीय बजारमा मानिसहरुको चहलपहल बढिरहँदा संक्रमित पनि बढिरहेका छन् । 

चाडपर्वमा मानिसहरुको आवतजावत बढ्ने हुँदा कोरोना प्रभावको  बढ्दो जोखिमलाई मध्यनजर गर्दै  जिल्ला प्रशासन कार्यालय झापाले  जिल्लाभर सीमित समयका लागि निषेधाज्ञा जारी गरिसकेको  छ ।    जिल्ला प्रशासन कार्यालय झापाद्वारा  कोजाग्रत पूर्णिमासम्मका लागि  निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयअनुसार कार्तिक २ देखि  १४ गते कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा जारी गरिएको छ । उक्त अवधिभर अनिवार्य रुपमा राति ८ बजेदेखि बिहान ५ बजेसम्मको अवधिमा हिँडडुल आवत जावत तथा व्यापार व्यवसाय बन्द गर्न  सूचना जारी गरिसकेको छ । 

यस्तै नवमीसम्म मठमन्दिरमा नृत्य  पुजापाठ गर्ने पुजारी बाहेक अरुलाई प्रवेश नदिने, अबैध घरेलु मदिरा उत्पादन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको निषेधाज्ञा सूचनामा मेला, महोत्सव, तास जुवा जस्ता गतिविधी नगर्न आग्रह गरिएको छ ।                                          

यस्तै सबैलाई घर भित्रै बसेर चाडपर्व मनाउन आग्रह समेत गरिएको छ । यसैगरी ध्वनि प्रदुषण हुने गतिविधि नगर्न नगराउन भनिएको छ ।                                

यसैबीच जिल्लाका केही  स्थानिय तहहरुले  हाल जिल्लामा कोरोना महामारिको जोखिम बढ्दै गएकोले दशैंअघि सम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएका छ्न् ।

गौरादह नगरपालिकाले उपलब्ध हुँदै आएका अत्यावश्यक सेवाहरु बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कार्तिक ६ गतेसम्मका लागि दमकल सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।                           

त्यस्तै दमक नगरपालिकाले पनि कार्तिक ४ गतेबाटै सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । कमल गाउँपालिकामा बडादशैंको अवसरमा विभिन्न स्थानमा लाग्ने साँस्कृतिक मेला तथा रमाइलो मेला लगाउन पूर्ण रुपमा बन्देज गरिएको छ ।                                       

कोभिड १९ को महामारीको कारण यस वर्ष विभिन्न स्थानमा लाग्ने साँस्कृतिक मेला तथा रमाइलो मेला लगाउन पूर्ण रुपमा बन्देज गराउने निर्णय भएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।          

बिर्तामोड नगरपालिकाले भने  नगरका केही वडा र नगरपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य काम मात्रै बन्द गरिएको सूचनामा जानकारी गरिएको छ ।           

झापामा थप ६४ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् ।

मंगलबार थपिएका संक्रमितहरु भद्रपुरमा ९, बिर्तामोडमा १७, दमकमा २६, हल्दिबारीमा ३, मेचीनगरका ४, कन्काइ, कमल, बार्हदशी, बुद्धशान्ती, अर्जुनधाराका एक–एक जना गरि ६४ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हाल झापामा कुल संक्रमितको संख्या १४७१ पुगेको छ भने कोरोनाबाट हाल सम्म झापामा १८ जनाको मृत्यु भइसकेको छ भने ५०० भन्दा बढी सक्रिय संक्रमितहरु उपचाररत अवस्थामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ