arrow

जहाँ भूत भगाईन्छ, वर्षौंदेखि भूत, पिशाच लगेका रुँदैहाँस्दै बक्ने !

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
sonamai.jpg

महोत्तरी । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ ।  बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए । 

मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ । 

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ । 

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । “सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भने । 

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ । मेलामा आउने पीडित (कारनी) र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ