arrow

बुबाले गराए छोराको चौरासी पूजा

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
babu-chora.jpg

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।  बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।
 
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद  लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।  

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन् । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम  छन् । 

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए। आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए । 

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ । उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ