arrow

किशोरीलाई करणीपछि हत्याको प्रयासमा प्रहरी जवान सिंह पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
Rape-Cases.jpg

डोटी । १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् । उनलाई सोमबार राति कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।

निमित्त प्रमुख सिंहले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए । यथाशीघ्र सत्यतथ्य जाँचबुझ गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए । उनले भने ,'अस्थायी प्रहरी चौकी गड्सेराका इन्चार्ज भण्डारीको भूमिकाबारेसमेत कुरा उठेपछि उनलाई जिल्लामा तानिएको छ, आरोपितलाई पक्रेर जिल्ला पुर्‍याइएको छ । चाँडै सत्यतथ्य बाहिर ल्याउँछौं ।’

कात्तिक १३ गते राति घटना भएको किशोरीका बुबाले बताएका छन् । उनका अनुसार सिंहले राति ११ बजे छोरीलाई घरमा सुतेकै कोठामा बलात्कार गरी सलले घाँटीमा बाँधेको र मृत्यु भएको ठानी कोदोबारीमा फालेको अवस्थामा फेला पारिएको थियो । छोरीलाई उनले बिहान ३ बजे अर्धचेत अवस्थामा भेटेका थिए । उनका बुवाले भने ,'राति कोही चिच्याएको आवाज आयो,  ‘को रहेछ भनेर गएको त छोरी रहिछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरिसकी भनेर फालेको रहेछ ।’ किशोरीको कात्तिक १५ गते बेलुकी धनगढीस्थित प्रादेशिक अस्पतालमा होस आएको थियो । उनको घाँटीमा नीलडाम छ ।

सिंहले आफूलाई निर्घात कुटपिटपछि हत्याको प्रयास गरेको किशोरीले बताएकी छन् । सिंहले पहिल्यैदेखि विवाह गर्ने आश्वासन दिएर फोन गर्ने गरेको र कात्तिक १३ गते भने विवाह नगर्ने भन्दै ज्यान मार्न खोजेको उनको भनाइ छ ।

किशोरीको घर र प्रहरीचौकी आमनेसामने छन् । प्रहरीले सुरुमा किशोरीको परिवारले प्रहरी जवान सिंहले विवाह नगर्ने भनेका कारण किशोरीले आत्महत्याको प्रयास गरेको आरोप लगाएको जिकिर गर्दै आएको छ ।

कात्तिक १४ गते बिहान ८ बजे किशोरीले आत्महत्या प्रयास गरेको भन्दै परिवार प्रहरीमा आएको उक्त चौकीका इन्चार्ज चन्द्रसिंह भण्डारी बताउँछन् । ‘त्यस बेला प्रहरी जवान सिंहका कारण आत्महत्या प्रयास गरेकाले छोरी मरे पनि बाँचे पनि जिम्मेवारी लिनुपर्छ भन्नुभयो,’ उनले भने, ‘घटनास्थल पुग्दा किशोरीकी आमाले भेलको रुख र बाख्राको खोरमा रहेको डोरी देखाउँदै यहीबाट आत्महत्या गर्न खोजेको भन्नुभयो ।’ तर, त्यही दिउँसो आमाले सिंहले विवाह नगर्ने भन्दै छोरीलाई मार्ने उद्देश्यले कुटपिट गरेको भनी उजुरी दिएको भण्डारीले बताए ।

सुरुमा किशोरीको परिवारले सिंहले छोरीसँग विवाह गर्नुपर्ने अडान लिएको र त्यति बेला किशोरीको उपचार प्राथमिकतामा रहेकाले त्यसैअनुसार धनगढी लगिएको भण्डारीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेयले पहिले दुवै पक्षबीच विवाह गर्ने कुराकानी भए पनि पछि किशोरीको परिवारबाट जबरजस्ती र हत्या उद्योगको उजुरी आएको बताए । ‘विस्तृत विवरण घटनाको अनुसन्धानपछि मात्र भन्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ