काठमाडौं । निजामती कर्मचारीहरुको निर्वाचनमा ठुलो संख्यामा मत बदर भएको छ। निजामती कर्मचारीहरूको आधिकारिक निर्वाचनमा कुल १४ सय ९८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। देश कै सार्वजनिक प्रशासनको बागडोर समालेका कर्मचारीहरुले नै यति ठुलो संख्यामा भोट हाल्न नजान्नुलाई धेरैले आश्चर्य ब्यक्त गर्दे यी कर्मचारीबाट के आश गर्ने सम्म भनेका छन्।
निजामती कर्मचारीको बुधबार भएको निर्वाचनको विहिबार प्राप्त मत परिणामले काठमाडौं उपत्यका भएको ४२ वटा विभागीय समितिको निर्वाचन र ७५ वटै जिल्ला भएको जिल्ला स्तरीय निर्वाचनमा कुल खसेको ४९ हजार ९५ मत मध्ये १४ सय ९८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। प्राप्त मत परिणाम मध्ये विभागीय समितिमा सबैभन्दा बढी कूल १ सय ९२ मत बदर भएको देखाएको छ।
काठमाडौं उपत्यकामा रहेको ४२ वटा विभागीय समितिको मतदान केन्द्रहरूमा भएको निर्वाचनमा यति धेरै मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसरी सबैभन्दा बढी मत बदर हुनेमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा कूल खसेको ४ सय २६ मतमा २१ मत बदर भएको छ। त्यसपछि क्रमशः बढी बदर हुनेमा बन तथा भू–संरक्षण मन्त्रालयमा १७ र अर्थ मन्त्रालयमा १७ मत भएको छ। भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा १५ मत र उद्योग मन्त्रालयमा १३ मत बदर भएको पनि निर्वाचन समितिले जनाएको छ। त्यसैगरी ८ वटा विभागीय समितिमा एउटा पनि मतपत्र बदर नभएको समितिले जनाएको छ।
न्याय परिषद् एवं न्याय सेवा आयोग, परराष्ट्र मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रपतिको कार्यालय, राष्ट्रिय महिला आयोग, विज्ञान तथा प्रविधि मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पनि कुनै मत बदर नभएको निर्वाचन कार्यालयले जनाएको छ। उता, जिल्लागत विवरणको आधारमा भन्ने हो भने अर्घाखाँची जिल्लामा एउटा पनि मत बदर भएको छैन भने अन्य सबै जिल्लामा मत बदर भएको छ। जसमध्ये सबैभन्दा बढी मत बदर हुने जिल्लाहरूमा काठमाडौं परेको छ जहाँ १ सय ३३ मत बदर भएको छ। त्यस्तै मोरङ जिल्लामा ५४ मत बदर भएको छ। अन्य जिल्लामा भने बदर संख्या सामान्य रहेको छ।