arrow

को बन्दैछ कर्मचारीको आधिकारिक ट्रेड युनियनको अध्यक्ष र महासचिव?

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
trade-unioun-3.jpg.jpeg
काठमाडौं। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको निर्वाचन सम्पन्न भएको छ। जसमा एमाले निकट कर्मचारीहरूको संगठन विजय भईसकेको छ। निर्वाचनमा पहिलो हुने संगठनले अध्यक्ष र दोस्रो हुनेले कार्यकारी पद महासचिव पाउने भएसँगै एमाले निकट कर्मचारी संगठनले ट्रेड युनियनमा अध्यक्ष पाएको छ भने महासचिवमा नेपाली काँग्रेस निकट कर्मचारीहरू युनियन संघका प्रतिनिधि हुने पक्का भएको छ। तेस्रो हुने माओवादी निकट राकसले उपाध्यक्ष पाउने भएको छ। अन्य पदाधिकारी र सदस्यहरुमा मत प्रतिशतको आधारमा वाँडफाँड हुनेछ। यससँगै अब अध्यक्ष र महासचिव र पदाधिकारीहरु को बन्ला भन्ने चासो सर्बत्र चुलिएको छ। 
 
कार्यालय प्रमुख नरहेका शाखा अधिकृत तथा सो भन्दा तल्लो तहका कर्मचारीहरूको बीचमा भएको भएपनि यो निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले कर्मचारी सरूवा तथा बढुवामा समेत विशेष भूमिका खेल्न सक्ने कानुनी व्यवस्था छ। त्यस खालका समितिमा आधिकारीक कर्मचारी ट्रेड युनियनको प्रतिनिधित्व रहने कारणले पनि यो समिति प्रभावशाली हुने देखिन्छ। तर धेरैको चासो मुख्य दुई कार्यकारी पदहरू अध्यक्ष र महासचिवमा को जालान् भन्नेमा आम कर्मचारीको चासो रहेको छ। 
 
अध्यक्षको स्थान सुरक्षित गरेको एमाले समर्थित संगठनबाट अध्यक्षको लागि अहिलेसम्म खासै विवाद नभएको संगठन स्रोतले जानकारी दिएको छ। अहिलेको संगठनका अध्यक्ष पुण्यप्रसाद ढकाल नै यो पदमा जानेमा पक्कापक्की जस्तै भएको संगठन स्रोतले जानकारी दिएको छ। चुनावमा दोस्रो बनेको नेपाली काँग्रेस निकट कर्मचारीहरू भने महासचिवमा कसलाई पठाउने भन्ने विषयमा छलफलमा रहेका छन्। एकथरीको मत भने महासचिवमा युनियनका महासचिवलाई पठाउनुपर्ने छ भने अर्काथरीले अध्यक्षलाई नै सो पदमा पठाउनुपर्ने मत रहेको छ।  
 
तर, युनियन भित्रका अधिकांश मत भने आफ्नै प्रतिस्पर्धी संगठनको अध्यक्षले नेतृत्व गरेको ट्रेड युनियनमा युनियन अध्यक्षको गरिमालाई ध्यानमा राख्दै अध्यक्षलाई महासचिवको रूपमा पठाउन नहुने मत बलियो रहेको छ। युनियनका अध्यक्ष महासचिव बन्न गए काँग्रेस सभापति शेर बहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उपप्रधानमन्त्री बन्न गएको झै हुने भएकोले युनियनको गरिमालाई ध्यानमा राख्दै युनियनका दोस्रो तहका व्यक्तिलाई पठाउनुपर्ने मत बलियो हुँदै गएको हो। युनियनका अध्यक्ष महासचिवको रूपमा जाँदा समग्र संगठनकै गरिमा माथि आँच आउने तर्क पनि गरेका छन्। 
 
निर्वाचन भन्दा अगाडि नै पहिलो स्थानमा भएको खण्डमा सुबोध देवकोटालाई अध्यक्षको रूपमा पठाउने सहमति भएको थियो। दोस्रो हुँदा भने को जाने भन्ने सहमति नहुँदा युनियन अझै निर्णयमा नपुगेको बताइएको छ। सम्भवत महासचिवमा युनियनबाट देवकोटा र युनियन महासचिव जीत बहादुर मडै मध्य एकको सिफारिस हुन सक्ने बताइएको छ। सहअध्यक्ष शोभाकर रेग्मीको हालै वढुवा भएका कारण उनको सम्भावना कम रहेको बताइएको छ। 
 
माओवादी केन्द्र निकट राकसले पनि कस्लाई उपाध्यक्ष बनाएर पठाउने निर्णय गरिसकेको छैन। राकसले पनि सम्भवत दोस्रो तहका नेतालाई जिम्मेवारी दिएर पठाउने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ