arrow

देउवाले यसरी सुरु गरे मनोनयनको सिलसिला

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Sherbahadur-deuba-news-fnl-.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय कार्यसमिति सदस्यमा चार सांसदलाई मनोनित गरेर मनोनयनको सिलसिला सुरु गरेका छन् । निर्वाचन भएको दुई महिना भित्रमा आफुले मनोनयन गर्नु पर्ने सवै पदमा मनोनयन गरिसक्नु पर्ने विधानमा व्यवस्था भएपनि केही ढिला गरी देउवाले संसदीय दलको कार्यसमितिबाट मनोनयन सुरु गरेका हुन् ।
 
संसदीय दलका नेता समेत रहेका देउवाले संसदीय दलको कार्यसमितिमा चार जना सांसदलाई मनोनयन गरेका छन् । उनले पहिला संसदीय दलको कार्यसमितिलाई पुर्णता दिएर मात्रै पार्टी केन्द्रीय समिति तर्फको मनोनयनमा लाग्ने योजना बनाएका छन् । 
 
सांसदहरू ध्रुव वाग्ले, विष्णुमाया परियार, चम्पादेवी खड्का र मीनाक्षी झालाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेको देउवाको निजि सचिवालयले जनाएको छ । उनले संसदीय कार्यसमितिमा दलको उपनेता, मुख्य सचेतक, सचेतक, सचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतगरी तीन जना महिलासहित नौ जना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था छ । 
 
संसदीय दलका तत्कालिन नेता सुशील कोईरालाले संसदीय दलको प्रमुख सचेतक  र सचेतकमा क्रमशः चिनकाजी श्रेष्ठ र ईश्वरी न्यौपानेलाई मनोनयन गरेको भएपनि अन्य पदहरु भने अहिले पनि रिक्त नै रहेको छ । उनले ति पदहरुमा पनि उनीहरुलाई हटाएर अन्य नेतालाई नियुक्त गर्ने तयारी गरेका छन् । प्रमुख सचेतक चिनकाजी श्रेष्ठको भुमीका प्रभावकारी हुन नसकेको भन्दै आलोचना र असन्तुष्टी व्यक्त भईरहेकाले उनको सट्टामा अर्को नेतालाई नियुक्त गर्ने संभावना अत्याधिक रहेको देउवा निकट नेताहरु बताउछन् । 
 
त्यसैगरी संसदीय दलकै उपनेतामा भने उनले गोपालमान श्रेष्ठ वा केवी गुरुङ मध्ये एक जनालाई ल्याउने मनस्थीति बनाएका छन् । दुई मध्ये एकलाई उपनेता बनाएर अर्कोलाई उपसभापति बनाउने देउवाको तयारी छ । तर विमलेन्द्र निधिलाई उपसभापति बनाउनका लागि यी दुवै नेतालाई कतै न कतै व्यवस्थापन गर्नु पर्ने देउवालाई दवाव छ । 
 
सभापति देउवाले दलको सचिव, कोषाध्यक्ष र प्रवक्तामा पनि आफ्नै समुहका र खुमबहादुर खड्का समुहका नेताहरु मध्येबाट मनोनयन गर्ने तयारी गरेका छन् । त्यसका लागि नेताहरुले आ आफ्नो लभिङ गरिरहेका छन् । 
 
फागुनमा सम्पन्न पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित देउवा चैत २४ गते सम्पन्न संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।
 
उनले संसदीय दलको मनोनयनपछि मात्रै पार्टी केन्द्रीय समितिको मनोनयन गर्ने देउवाका एक सहयोगीले बताए । देउवाले पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केही केन्द्रीय सदस्य मनोनयन गर्न वाँकी छ । पार्टी तर्फ देउवाले विमलेन्द्र निधिलाई उपसभापति, बालकृष्ण खाँणलाई महामन्त्री र समावेसी गराउनु पर्ने समुदाय मध्ये दलित, महिला, जनजाति, मधेशी मध्येबाट सहमहामन्त्री मनोनयन गर्न चाहेका देउवा निकटस्थहरु बताउछन् । त्यस्तै पार्टीको प्रवक्ता र विभिन्न विभागीय प्रमुखहरु पनि तत्काल तोक्न देउवालाई बैधानिक दवाव छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ