arrow

भ्रष्टाचारको अखडा बन्दै वेलकोटगढी, काम सुस्त जनता निराश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
raman-khanal-belkotgadhi.jpg

नुवाकोट । नेपालकै कान्छो नगरपालिकाको रुपमा रहेका बेलकोटगढी नगरपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको आरोप लाग्न थालेको धेरै भएको छ । गत एक बर्षमै नगरपालिकाका तीन इन्जिनियर भ्रष्टाचार मुद्दामा रंगेहात पक्राउ परेसँगै नगरपालिका भित्र हुने गरेको अनियमितता र भ्रष्टाचार छताछुल्ल हुन पुगेको हो । 

शनिबार एकाविहानैमात्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने नाउँमा सेवाग्राहीसँग घुस माग्ने इन्जिनियर पर्वत पौड्याललाई पक्राउ गर्यो । इन्जिनियर पौड्याललाई अख्तियारको टोलीले ७५ हजार नगदसहित पक्राउ गरेको हो । पौड्यालसहित उनलाई सहयोग गरेको आरोपमा वेलकोटगढी नगरपालिका ८ का नारायण भट्टलाई समेत अदुअआको टोलीले नियन्त्रणमा लिएको हो । 

यसअघि उक्त नगरपालिकाका स्थायी इन्जिनियर बद्री भण्डारीपनि घुस लिएको आरोपमा पक्राउ परिसकेका छन् । काठमाडौंबाट भण्डारीलाई घुससहित अख्तियारले पक्राउ गरेको थियो । विकास निर्माणको योजनाको मुल्याङन गर्ने काममा उपभोक्ताहरुसँग अनावश्यक दिःख दिएर रकम बार्गेनिङ गर्ने गरेका भण्डारीलाई अख्तियारले पक्राउ गरेसँगै नगरपालिकाको कामकार्वाहीमा प्रश्न उठेको थियो । 

त्यसोत यही नगरपालिकामा एक बर्ष अघिमात्र पनि नगरपालिकाका केही वडामा मृतक मान्छेको नाउँँमा किर्ते सहीछाप गरी बृद्व भत्ता बुझिलिएको भन्दै अख्तियारले फाइल नियन्त्रणमा लिएको थियो । उक्त मुद्दा अझैपनि अख्तियारको छानबिनकै क्रममा रहेको स्रोतको दावी छ । 

ढीलासुस्तीमा पनि एक नम्बर 
अनियमितताको चरम आरोप खेपिरहेको बेलकोटगढी नगरपालिका कार्यसम्पादनमा देखिने ढिलासुस्तीमा समेत अगाडी देखिन्छ । नगरपालिकाले निर्वाचनयता मुश्किलले ३९ वटा बैठक बोलाएको वडा प्रमुख रमेश प्रसाद नेउपानेको गुनासो छ । त्यसोत नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को लागि असार १० गते सम्पन्न नगरसभाको बजेट बाँडफाँडको पुस्तिकासमेत आजसम्म जनप्रतिनीधिहरुलाई उपलब्ध गराएको छैन ।

‘नाउँमात्रको नगरपरिषद् गरेर हामीलाई झुक्याइयो, कात्तिक मसान्तभित्र उपभोक्ता समिति गठन गरेर विकास निर्माणलाई तिब्रता दिनुपर्नेमा आजसम्म पनि कहाँ कति बजेट छुट्याइएको थाहाँ पाउन समेत सकिएन’  वडा अध्यक्ष रामहरी पाण्डेले गुनासो गरे । नगरपालिकाको ढुलासुस्तीको अर्को तथ्य भनेको बृद्वभत्ता वितरणमा समेत देखिएको स्थानीयहरु बताउँछन् । 

प्रत्येक चार महिनामा वितरण गर्नुपर्ने बृद्वभत्ता समेत समयमा पाउन नसकेको स्थानीयहरुको गुनासो छ । अन्यत्रका स्थानीय तहले दशैं अघि नै बृद्धभत्ता वितरण गरिसके पनि तिहार लाग्नै लागिसक्दा समेत बेलकोटगढीका जनताले बृद्धभत्ता पाउन सकेका छैनन् । ‘भत्ता आउला भनेर बैंक धाउँदाधाउँदै हैरानमा परियो दशैंमा समेत भत्ता रकम पाइएन’ एक वृद्धले गुनासो गरे । ‘हिजो घरघरमा आएर ढोलीमा बोकेर खाता खोल्न लगाए तर अहिले समयमा भत्ता नदिंदा दशैं समेत खल्लो भयो’ अर्का बृद्धले गुनासो गरे । 

नगरपालिकाको काममा ढिलासुस्ती हुनुमा नगरपालिकाले बारम्बार प्रशासकीय अधिकृतहरुलाई परिर्वतन गर्नुपनि प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । नगरपालिकाले गत तीन बर्षमै चार जना प्रशासकीय अधिकृतहरु बदली सकेको जनप्रतिनीधिहरु नै बताउँछन् । 

मुलुक नयाँ संरचनामा गएसँगै विकासले तिव्रता पाउँला भनेर आश गरिरहेका बेलकोटगढीबासीहरु नगरपालिकाकै हरिबिजोक देखेर उदास छन् । हाम्रो विकासको सपना त परै जाओस् स्वयं नगरपालिका आफ्नो भवनमा उभिन सकेन एक स्थानीयले भने । ‘आजसम्म पनि नगरपालिकाको न त आफ्नो जग्गा छ न त भवन नै । बरु भुकम्पमा अन्य संस्थाहरुले बनाइदिएको भवनमा नगरप्रमुख निदाएर बसेजस्तै अवस्थामा देखिन्छन् ।’ उनले भने । 

नगरपालिकाले आजसम्म पनि भएका स्थायी कर्मचारीहरुको व्यवस्थापन गर्न नसकेको बताइन्छ । ‘भएका कर्मचारीको व्यवस्थापन गर्न सकिरहेको छैन बरु अनावश्यक रुपमा आफू निकटका कार्यकर्ताहरुलाई करार कर्मचारीको रुपमा नियुक्ति मात्र गर्छन्।’ स्थानीयहरुले गुनासो गरे । त्यसो त नगरपालिकाले आजसम्म पनि नगर प्रहरी समेत गठन गरेको छैन । ‘कृषि पशु र शिक्षा जस्ता क्षेत्रमा कुनै योजना नै छैन भएका कर्मचारीहरुले समेत काम पाइरहेका छैनन्, कार्यकर्ता भर्ती गरेर मनपरी चल्यो’ स्थानीयहरुले गुनासो गरे । 

विकास निर्माणमा मनपरीतन्त्र 
बेलकोटगढी नगरपालिकामा हुने विकास निर्माणमा समेत मनपरी र पक्षपात हुने गरेको स्थानीयहरुको गुनासो छ । आफ्ना कार्यकर्ताहरुको भरणपोषण्मै विकास निर्माणको बजेट खर्च हुने गरेको कतिपयको आरोप छ । नगर आफैले छुट्याइने बजेटमा त पक्षपात भयो भयो, प्रदेश सरकारले छुट्याएको बजेटमा समेत शिर्षकै परिर्वतन गरी मनपरी गर्छन् स्थानीय जनप्रतिनीधिले भने । नगरप्रमुख राजेन्द्र रमण खनालले कालिघुम्ती बेलकोट सडकखण्डमा मनपरी गरेर बजेट हालेको बताउँछन् । नगरपालिकाले उक्त सडकमा मात्रै तीन करोड बराबरको रकम हाले पनि बजेट वालुवामा पानी खन्याएको जस्तो मात्र भएको स्थानीयहरुको आरोप छ । करोडौं छुट्याइएर बनाएको सकडमा अहिले सामान्य गाडीहरु समेत गुड्न नसक्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् । करोडौं रकम छुट्याएर बनाइएको सडकमा कार्यकर्ताहरुको भरणपोषणका लागि नगरप्रमुख खनालको ठाडो आदेशमा १० लाखभन्दा बढी रकमको बृक्षारोपण गरे पनि एक हप्ता समेत विरुवा टिक्न नसकेको स्थानीयहरुको आरोप छ । 

सदरमुकामदेखि नगरपालिकासँग जोड्ने सडकमा समेत शिर्षक परिर्वतन गरि उल्टो गतीमा काम भइरहेको स्थानीयहरु बताउँछन् । यसअघि बेतीनी झुपु सडकका नाममा विस्तार भइरहेको सडक अहिले मेयरको एकलौटी निर्णयले झुपु बेतीनी सडकखण्ड बनाइएको आरोप छ । सडकको नाम परिर्वतन गरेर पहिला बेतिनीबाट निर्माण भइरहेको सडक अहिले झुपुबाट खन्न थालिएपछि स्थानीयहरु एक आपसमा जुधिरहेको एक स्थानियले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ