arrow

जुवा खालबाट तीन वडाध्यक्षसहित चार जना पक्राउ, छुटाउन नेकपा नेताहरुको दबाब

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
police-arrest-juwade.jpg.jpeg

तेह्रथुम । तेह्रथुममा जुवा खेलिरहेका तीन जना वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्याङलुङ नगरपालिका ६ का अध्यक्ष इन्द्र लिम्बु, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल सम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई एक लाख रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ ।

मंगलबार जिरीखिम्तीको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले दिउँसो तीन बजे छापा मारेको थियो । स्रोतका अनुसार सो ठाउँमा नियमित जुवा खेल्ने गरेको सूचना प्रहरीले पाएको थियो । जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएका छन् । उनीहरुविरुद्ध प्रहरीले मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्धा दर्ता गरी प्रक्रिया अघि बढाएको छ ।

तीनै जना वडाध्यक्षहरु नेकपाबाट निर्वाचित हुन् । वडाध्यक्षहरु नै जुवाखालबाट पक्राउ परेपछि उनीहरुलाई छुटाउन नेकपाको जिल्ला नेतृत्व लागिपरेको छ । राजनीतिक दबाबकै कारण प्रहरीले मुद्धाको विवरण समेत सार्वजनिक गरेको छैन । डिएसपी गौतम पोखरेलले सञ्चारकर्मीलाई समेत घटनाको बारेमा समाचार नलेख्न आग्रह गरिरहेका छन् । यसअघि दशैँमा पनि मोटो रकमसहित म्याङलुङकै एक वडाध्यक्ष पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ