arrow

साहु आफैले चलाएको गाडी खसेको थियो भीरमा, चालक पनि घाइते 

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
accident-final.jpeg

बैतडी । बैतडीमा भएको बस दुर्घटनाका चालक आफू नै साहु रहेको खुलेको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको हो । साहु आफै चालक रहेका र उनी पनि घाइते रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीले उनको टाउकोमा चोट लागेको र शरीरका विभिन्न भागमा पनि चोट रहेको बताए । उनले चालक बोल्न सक्ने अवस्थामा नरहेको तर गम्भीर भने नरहेको बताए । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । 

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । 

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ । 

मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरीले बताएको छ । 

प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । 

अधिकारीले घुम्ती त्यति ठूलो नभएकाले चालक नै निदाएको हो कि भन्ने आशंका गरिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ