arrow

‘चर्काचर्की नगर्नुस् डोटी विमानस्थल कालोपत्रे हुन्छ’

१५ दिनमा टेण्डर : अहिलेको ७ करोड र गत वर्षको ढाई करोड बजेट

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
doti--bimansthal.jpg.jpeg
काठमाडौं । एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएको बजेटमाथिको शंका जिल्ला जिल्लासम्म चुलिएको छ । यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदबाटै बजेटबारे चिन्ता र शंका नगर्न सबैलाई आग्रह गरेका छन् । बजेटको पुँजीगत खर्चको स्रोतबारे विपक्षीलगालयत केहीले शंका गरिरहेका बेला अर्थमन्त्रीले सार्वजनिक लगानीबाट परिपूर्ति हुने जवाफ दिए । यद्यपि, बजेटबारे जिल्ला–जिल्लामा बहस सुरु भएको छ । जिल्लाका स्थानीयले आफुहरुको क्षेत्रलाई प्राथमिकता नदिएको गुनासा गरिरहेका छन् । 
 
यस्तै, सुदूर पश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटी जिल्लामा दोहोरी नै चलेको छ । माओवादी सशस्त्र द्वन्द्वकै समयमा उडान बन्द भई हाल गौचरनमा परिणत दिपायल एयरपोर्टको कालोपत्रे गर्ने र उडान सुभारम्भ गर्ने योजना वर्तमान बजेटले नसमेटेको भन्दै स्थानीय स्तरमा बहस सुरु भएको छ । सत्ताधारी एमाले समर्थक र विपक्षी कार्यकर्ताहरु बाँझिन थालेका हुन् । बाँझाबाझ सांसद सम्म पुगेको छ । त्यति मात्र नभई स्थानीय तथा मूधारका संचार माध्यममा डोटीको विकास बजेटबारे आएको समाचारकै विषयलाई लिएरे चर्काचर्की भएको छ । एमाले समर्थकहरुले पत्रकारलाई नै गाली गलौच गरेको भन्दै पत्रकार महासंघ डोटीले अपशब्द प्रयोग गरी गाली नगर्न भन्दै ध्यानाकर्षण गराएको छ । 
 
डोटी क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद प्रेम आले मगरले आफुले कसैलाई अपशब्दले गाली नगरेको बताएका छन् । उनले समाचारको व्यहोरा र आफुले गरेका पहललाई समायोजन गरी सूचनाका लागि मात्रै सामाजिक संजाल फेसबुकमा स्टाटस राखेको सुनाए । उनले बजेटको विषयमा भएको बाँझाबाझ अर्थहिन रहेको टिप्पणी समेत गरेका छन् । हाम्राकुरासंग सांसद आलेले भने, ‘अनावश्यक भ्रम फैलाउने काम भएछ, त्यसो गर्न नहुने हो ।’ सूचना मारेर समाचार प्रकाशन समेत भएछन् । आलेले भने, ‘१५ दिनपछि टेण्डर हुँदैछ, दिपायल एयरपोर्ट कालोपत्रे हुन्छ । अहिले ७ करोड छुट्याइएको छ ।’ ३ करोड थप्ने कुरा छ । कम्तिमा १० करोड भए काम सकिन्छ । 
 
सांदले भनेको कुरामा सत्यता छ ? हामीले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमलाई सोध्दा गौतमले १५ दिनपछि टेण्डर हुन लागेको जानकारी दिए । उनले भने, ‘१५ दिन भित्र पिक्यु निष्किन्छ । त्यसपछि अन्तिम बोलपत्र आह्वान हुन्छ ।’ अहिलेकै अर्थमन्त्रीका पालामा ७ करोड विनियोजन भएको उनले जानकारी दिए । ढाई करोड चालु आर्थिक वर्षकै बाँकी छ, गौतमले थपे, ‘ढाई करोड इन्क्लुडिङ भ्याट छँदैछ, त्यो रकम फ्रिज हुँदैन, १० करोड जतिमा कालोपत्रे सकिन्छ ।’ अर्थमन्त्रालयले सहमति दिएको छैन रे नी ? जवाफमा उनले भने, ‘सरकारले जति लाग्छ दिन्छु भनिसकेकाले समस्या हुँदैन, बजेटमा आइसकेको कुरालाई कसैले रोक्न सक्दैन ।’ डोटी विमानस्थल पीच हुन्छ ।   
 
विमानस्थलको लम्बाई ४९० छ । द्वन्द्वकालबाटै उडान बन्द भएको विमानस्थल गौचरनमा परिणत भएपछि पनि ३ वटा विमान अवतरण भएका छन् । एमाले सांसद आलेले आफुले दुई पटक तारा एयरका विमान पुर्याएको बताएका छन् । उनले क्षेत्रीय महोत्सवमा उद्योगमन्त्री शोमप्रसाद पाण्डेलाई तारा एयरको प्लेन चार्टर गरेर दिपायल एरपोर्टमा झारे । त्यसपछि पनि जिल्ला परिषद्को उद्घाटनका क्रममा आलेले तारा एयरकै टुइनअर्टर सोही  विमानस्थलमा ल्याण्ड गराएको सुनाए । यद्यपि, नियमित उडानका लागि कुनै एयर लाइन्सले भनेको कुरा आफुलाई थाहा नभएको र अहिले उडान नभएको आलेले प्रस्ट्याए । त्यसअघि, माओवादी सरकारका पर्यटन मन्त्री लोकेन्द्र बहादुर विष्ट मगर जहाज चढेर महत्सव उद्घाटन गर्न पुगेका थिए ।  
 
सडकको चर्चा 
एमाले सांसद आलेले जिल्लामा भएको सडककै चर्चाबारे सुनाउँदै भनेका छन्, ‘हामीले यत्रो काम गरेका छौं, गरिदिएन भन्न सुहाउँदैन नी ।’ समूहगाड मान्नाकापडी सडकमा १० करोड, सहजपूर वीपिनगर बोगटान–दिपायल सडकमा ४० करोड, वीपिनगर सव स्टेशनका लागि २० करोड विनियोजन भएको आलेले सुनाए । उनका अनुसार जो बहुवर्षिय योजना हुन् । बुडर–जोरायल सडकमा ५० करोड मागेको बताउँदै आलेले पश्चिम सेतीमा आवश्यकता अनुसार बजेट दिने प्रतिबद्धता आएको जानकारी दिए । खुटिया–दिपायल सडक (फास्ट ट्रयाक)मा १५  करोड, गैरा–मुडभरा सडकमा २ करोड परेको आलेको भनाई छ । उनले भने, ‘यी रणनैतिक योजना हुन् ।’ आफुले पहिलो पटक बजेट पारेको भन्दै सांसद आलेले सिलगढी झिग्राना सडकलाई प्रादेशिक सडकमा राखेको र ७० लाख देखि १ करोड बजेट आउने सुनाए । सुपमा १५ क्याम्पस, अत्तरियाको गेटामा ४८ करोडमा दशरथचन्द प्रतिष्ठान बन्न लागेको समेत जानकारी गराए । खानेपानीका ५० बढी आयोजना परेका उनको भनाई छ । 
 
विवाद गर्नु पर्ने कुनै कारण छैन 
डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख सुशील ढकालले यसमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताए । बजेटबारे यहाँका स्थानीयलाई चासो हुनु स्वभाविकै हो, उनले भने, ‘सहजपुर–दिपायल सडकका लागि ४० करोडको ठेक्का व्यवस्थापन गर्न पत्र आइसकेको छ । निर्णय भइसकेको छ । अर्थको सहमति आउनु भनेको काम पक्का हुनु हो ।’ ठेक्काको प्रक्रियामा दुई चार महिना समय लाग्ने कुरा स्वभाविक हो ।
 
सम्पूर्ण पक्रिया पूरा गरेपछि मात्रै ठेक्का भई रकम निकासा हुने हो । अर्थले अव्यवस्थित विकासमा चाँसो राख्नु त राम्रो हो नी, उनले थपे, ‘अर्थले दोहोरो काम नगर्न भनेको छ । कतिपय ठाउँमा पहिलेका बाटा साँघुरा छन् । फेरि काम गर्नु पर्ने छ ।’ प्रक्रिया मिलाउन समय लाग्छ । पठाउन हामीले मान्नाकापडी, उग्रतारा–मेलौली, बुडर– जोरायल, सिलगढी–झिक्राना र गाँजरी सडक लगायत थुप्रै पठाएका छौं । सहजपुर–दिपायल, दैजी जोडबुडा–बुडर, मेलौली–उग्रतारालगायत अहिलेसम्म चार वटाको हामीलाई पत्र आएको छ–ढकालले भने । 
 
सरकारले सडकमा ३० अर्ब खर्च गर्नेमा बोगटान सडक पनि परेको छ 
सडक विभागका योजना अनुगमन मूल्याङ्कन शाखा प्रमुख लक्ष्मी भट्टले सरकारले भौतिक निर्माणमा खर्च गर्ने १ खर्बमा ३० अर्ब सडकमा खर्च हुने बताउँदै जुन खर्चभित्र सहजुर–बोगटान सडक परेको बताएका छन् । अर्थमन्त्रालयले सहमति दिइसकेको भन्दै उनले यसमा अब ठेक्का प्रक्रिया सुरु हुने बताए । सो सडकले ४० करोड पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ