arrow

महासंघमा हुने राजनीति अन्त्य हुनुपर्ने पक्षमा सौरभ ज्योती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
Saurav-Jyoti_Fncci.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यावसायिक घराना ज्योती समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पुरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनुपर्ने धारणा राख्दै आएका छन् । 

सौरभ ज्योती पहिलो कार्यकालमै एसोसिएट उपाध्यक्षमा इच्छा देखाएका थिए । तर, विभिन्न परिस्थिति र “टिम स्प्रिड” का लागि उनले उक्त पद छाडेका थिए । एक प्रकारले उनलाई युवा नेता पनि भन्निछ, तर पनि उनको कपाल फुलिसकेको छ । टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने निजी क्षेत्रमा उनकोे “स्ट्रङ प्रिन्सिपल” छ । पहिलेको कार्यकालमा उनले अर्को पटक आउँछु भनेर अरु साथीहरुलाई बाटो खुल्ला गरिदिएको ज्योती बताउँछन् । त्यहाँ उनको ६ वर्ष बितिसकेको छ । त्यसैले अहिले आफुले एशोसिएट्सको उपाध्यक्षमा दाबी गरेको ज्योतीको भनाई छ । यसमा “रिजल्ट” ल्याउने गरि कामगर्ने सोच उनले बनाएका छन् । समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने प्रतिबद्धता ज्योतीले जनाएका छन् । व्यापार व्यवसायको समृद्धीमा आफ्नो जोड रहने उनको भनाई छ । 

“व्यवसायीहरु समृद्ध हुँदा ठूला व्यवसायको मात्र होइन समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्छ । समग्र आर्थिक विकासको शुत्र पनि यही नै हो,” ज्योती भन्छन्, “नत्र सीमित व्यक्तिले मात्र प्रगति गर्न सक्यो भने हाम्रो आर्थिक विकास हुने सम्भावना हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको जुन सपना हामीले लिएका छौं, त्यो साकार पार्न गाह्रो हुन्छ । त्यसैले महासंघको, साझा समृद्धी र समावेशी विकासमा लाग्नुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।”

“महासंघ भनेको ५४ वर्ष पुरानो एउटा प्रोफेसनल संस्था हो । सबै उद्योग व्यवसायीको छाता संगठन हो, जसको सञ्जाल कुनै क्षेत्रमा नेपाल सरकारको भन्दा पनि बढी छ । यो अवस्थामा महासंघले अहिलेकोभन्दा धेरै काम गर्न सक्छ” ज्योती भन्छन् । कर समितिमा सभापति भएर पहिलो कार्यकालमा काम गर्दा महासंघको सञ्जाल नेपाल सरकारको कर कार्यालयको सञ्जाल भन्दा बढी भएको उनको अनुभव छ । त्यसैले पनि एजेण्डा वस्तुनिष्ठ हुनुपर्छ भन्ने धारणा राख्छन् ज्योती । 

विज्ञसहितको प्रोफेसनल सचिवालय आजको आवश्यकता रहेको बताउने ज्योती अबको उद्देश्य रोजगारी सिर्जनामा केन्द्रीत हुनुपर्ने बताउँछन् । आर्थिक समृद्धी र सबै सदस्यको हक हीतकालागि लड्ने प्रतिबद्धता उनको छ । “तर यो विषयबाट महासंघ अलि बाहिर गइरहेको एक दशकभन्दा बढी भइसकेको छ । अहिलेको मुद्दा नै राजनीति हुन्छ,” ज्योती भन्छन्, “को कुर्चीमा आउने ? कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त आन्तरिक राजनीतिकै हुन्छ । यो एकदम गलत छ ।”

महासंघ सचिवालय पनि तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले स्थापित गर्नुपर्ने ज्योतीको भनाई छ । यसका लागि पनि आफुहरुले टीमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । “महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ । खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक रिकभरिमा लाग्नुपर्ने टडकारो आवश्यक्ता छ । अर्थतन्त्र धरासायी अवस्थामा छ । विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्,” ज्योतीले भने, “उनीहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने ? दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने, थिंक ट्यांकमा कसरी अघि बढ्ने ? यस्ता विषय मेरो प्राथमिकतामा पर्नेछन् ।”

नतिजाउन्मुख काम गर्नका लागि महासंघलाई राजनीतिमुक्त बनाउँदै वस्तुनिष्ठ व्यावसायिक संस्था बनाउन ज्योतीले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगत रुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकाले त्यो दिशामा जाने बाटो पनि नीजि क्षेत्रले नै बनाउनु पर्ने उनको तर्क छ । “प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो,”  ज्योती भन्छन्, “व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु रहेको नै भएकाले हामीले महासंघमा परिवर्तन चाहेका छौं।”

“नेता भएँ भनेर सबैले नमस्कार गरे भन्दैमा धाक देखाउने त होइन नि ? अध्यक्ष , उपाध्यक्ष, सबैसँग झुकेर सबै साथीहरुको सेवामा लाग्ने हो भने धेरै काम त आफैं सम्पन्न हुन्छन् । त्यो नै वास्तविक नेतृत्व हो । र अहिले यसको खाँचो परेको छ,” ज्योती भन्छन् । साथीहरुलाई परेको समस्या र अफ्ठ्यारोको एजेण्डा बोकेर अगाडि बढ्ने र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले आफू र आफ्नो टिम अघि बढिरहेको उनको भनाई छ । मतदाताले पनि यो विषय राम्रोसँग बुझ्नु भएकाले आफुहरु शसक्त रुपमा अघि बढिरहेको उनले बताए । 
हाल एशोसिएट्सतर्फ ९२७ जना मतदाता रहेका छन् । ती सबै मतदाताहरु उद्योग, व्यवसायका प्रमुखहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्ति भएकाले पनि आफ्नो चुनाव जित्ने रणनीति धेरै सरल रहेको उनको बुझाई छ । 

“नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो भन्ने मेरो धारणा हो । त्यसै पनि म कम बोल्ने मान्छे हो, काम कति गरेको छु भन्ने त साथीहरुले बिचार गर्नु भएको छ । अरु काम नेतृत्वमा पुगेर गर्न सहज होला भनेर यस पटक अघि सरेको छु” ज्योती भन्छन् । जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ त्यो व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ भन्ने धारणा ज्योतीको छ । सबै जना व्यवसायको नेतृत्व सम्हालेर हिड्ने भएकाले आफ्नो हकमा कामको योग्यताले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्छन ज्योती । आफूले दाबी गरेको पदमा सेवा गर्नलाई मौका दिन आग्रह गरेको बताउने ज्योती कामबाटै अगाडि बढेर आफूले सहयोग माग्ने अवस्थामा पुगेको र सहयोग पाएर त्यो पद पाइसकेपछि एक्लै नभई टिम भएर काम गर्न प्रतिबद्ध रहेको बताउँछन् । 

१९ जनाको टिममा आफूहरु र ९२७ जना नै मासिक रुपमा छलफल गरेर निकास खोज्ने योजना आफुले बनाएको ज्योतीको भनाई छ । “सबैको सुझावहरु संकलन गरेर हामी अघि बढ्ने हो । समस्या छ भने समाधान गर्ने, आर्थिक समृद्धिका लागि आवश्यक योजना र रणनीति बनाउने, निजी क्षेत्रको शसक्तीकरणमा लाग्ने एजेण्डालाई हामीले आत्मसाथ गरेर अघि बढेका छौं” ज्योती भन्छन् । 

निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको बताउने ज्योती मतदाताले राम्रो मान्छे चिन्न सक्नुपर्नेमा जोड दिन्छन् । व्यक्तिले जे भने पनि टीममा मिलेर काम गर्नु पर्ने र त्यो गर्ने क्षमता आफुहरुको टीममा रहेको उनको बुझाई छ । आगामी अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, उपाध्यक्षहरुमा आफु र अन्जन श्रेष्ठको एउटा धार भएकाले पनि महासंघलाई अबका दिनमा बलियो बनाउन यो टीमलाई अघि बढाउनुको विकल्प नरहेको उनको दाबी छ । 

एफएनसीसीआईसँग प्रोजेक्ट नै नभएको अवस्थामा प्रोजेक्ट ल्याएर महासंघको गरिमा उच्च बनाउन आफुहरु सबल रहेको बताउने ज्योती हरेक कामको प्रभावकारी कार्यान्वयनमा पनि टीमको भुमिका महत्वपूर्ण हुने बताउँछन् । यसमा आफनो प्रयास जारी रहेको र आगामी दिनमा त्यसलाई अझ बुलन्दीका साथ अघि बढाउने योजना ज्योतीको छ । आत्मविश्वासी नेतृत्वको आवश्यक्ता औंल्याएका ज्योती व्यक्तिगत स्वार्थमा महासंघ आउनेहरुबाट नतिजा खोज्न नसकिनेमा आफु विश्वस्त रहेको बताउँछन् । यसका लागि अनुभव, लगनशीलता र टीमको विश्वास महत्वपूर्ण हुने उनको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ