arrow

यार्सागुम्बा सिजनले सङ्घ संस्थाका कार्यक्रम समेत प्रभावित

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
school-n-yarsa-sport.JPG.jpeg
दुनै (डोल्पा) । बहुमूल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली पाटन गएपछि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् । 
 
जेठ १० गते औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि मध्य डोल्पाका त्रिपुराकोट गाविसका करेलिकाँडा, रसी, मद्धु, रुम त्यस्तै माझफाल गाविसका थरगाँउ, ताली, लाहारा हुँदै माथिल्लो डोल्पाका धो, तिन्जे, छार्का, मुकोट तथा तल्लो डोल्पाका कालिका, शर्मी, नर्कु, रिमी, काइगँउलगायतका गाविस उराठ भएका छन् । 
 
यतिखेर गाउँघरतिर विभिन्न कार्यक्रम लिएर जाने हो भने मान्छे भेटाउनै गाह्रो पर्छ, शान्ति समिति डोल्पाका संयोजक देवसिंह कठायतले भने । यार्सा सिजनको प्रभावले यस समयमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सञ्चालन हुने लक्षित कार्यक्रमलेसमेत आवश्यक उपलब्धि हाँसिल गर्न सकेका छैनन् उनले थपे । 
 
यार्सागुम्बा सिजनले छिमेकी जिल्ला जाजरकोट, रुकुम, जुम्लाका धेरैजसो गाविस शून्य भएका छन् भने विद्यालय पनि बन्द भएका छन् । 
 
डोल्पाली तथा छिमेकी जिल्लावासीको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले एक महिनाको अस्थायी बासको लागि बन्दोबस्तीका सामान र पशुचौपायसहित गाउँ घरनै शून्य पारेर पाटनतिर लाग्ने गरेको त्रिपुराकोटका स्थानीयवासी लोकचन्द्र रोकायले बताए । 
 
छोटो समयमा धेरै कमाइ हुने भएकाले पनि घरकुर्ने मान्छेसमेत नराखी दूधे बालक, केटाकेटी, वृद्धसहितलाई यार्सागुम्बाको भूत चढ्ने गरेको रोकायले उल्लेख गरे ।  
 
 
यार्सा टिप्ने हतारोले तल्लो डोल्पाका अधिकांश सर्वसाधारणले बर्खेबाली नै नलगाएर यार्सापाटन गएको कालिका गाविसकी स्थानीयवासी मीना रोकायले बताइन् । 
 
जोखिमपूर्ण यार्सागुम्बा टिपाइले कतिपयको भाग्य चम्किने तथा केहीको मृत्युको कारण समेत बन्ने गरेको छ । यार्सागुम्बा सिजनमा पाटनमा विभिन्न जिल्लाका स्थानीयवासीको जमघट हुने भएकाले गाउँघर भन्दा पाटनमै रमाइलो हुने स्थानीयवासी भरुन सार्कीले बताए । 
 
सशक्त डोल्पाली सबै यार्सागुम्बा टिप्न पाटन गएपछि अशक्त, अपाङ्ग बूढाबुढी मात्रै गाउँघरमा देख्न सकिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ