arrow

नेतृत्व पठाउन संगठन र युनियनमा हानाथाप

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
trade-unioun-3.jpg.jpeg
काठमाडौं । जेठ १९ गते भएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको मत परिणाम आएसँगै नेतृत्व पठाउने विषयमा पहिलो र दोस्रो संगठनभित्र नै हानाथाप सुरू भएको छ । निर्वाचनमा भारी मतले विजयी बनेको निजामती कर्मचारी संगठन र दोस्रो स्थानमा चित्तबुझाउनु परेको निजामती कर्मचारी युनियन (संघ) अहिले नेतृत्वमा कसलाई पठाउने भन्ने हानाथापमा लाग्दा कर्मचारी संगठनहरूले अहिलेसम्म कसलाई नेतृत्वमा पठाउने भन्ने निर्णय गर्न सकिरहेका छैनन् ।
 
निर्वाचनबाट पहिलो बनेको नेकपा एमाले निकट कर्मचारी संगठनमा अहिले को अध्यक्ष बन्ने भन्नेमा विवाद सुरू भएको छ । अहिले संगठनको नेतृत्व गरिरहेका अध्यक्ष पुण्यप्रसाद ढकाल कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनमा अध्यक्ष बनेर जाने कुरा सर्वसम्मत हुने अपेक्षा गरिएपनि उनको पनि विकल्प खोज्न थालिएको संगठन स्रोतले जानकार दिएको छ । ढकाल कार्यरत गृहमन्त्रालयमा भने संगठन पराजित भएपछि उनको नेतृत्व क्षमता माथि प्रश्न उठाउँदै उनको विकल्प खोज्नेगरी प्रचारबाजी सुरू भएको छ ।
 
 यसमा पार्टी भित्रको गुटगत राजनीति समेत हाबी भएको कर्मचारी संगठनका नेताहरू बताउँछन् । ढकाल स्वभाविक रूपमा उम्मेदवार हुन्छन् या त उनको विकल्पमा अरू आउँछन् त्यो भने हेर्न बाँकी त । तर, लामो समयसम्म संगठनको नेतृत्वमा रहेर पहिलो आधिकारिक टे«ड युनियनमा संगठनलाई विजयी समेत बनाएका अध्यक्ष ढकालको विकल्प खोज्न नहुने मत बढी भएकोले संगठनले विवादका बाबजुत पनि अध्यक्ष ढकाललाई आधिकारिक ट्रेडयुनियनको अध्यक्ष बनाएर पठाउने निश्चितप्रायः रहेको संगठन स्रोतले जानकारी दियो । 
 
उता, दोस्रो स्थानमा रहेको युनियनमा भने महासचिव र अध्यक्षबीच नै विवाद चुलिएको कर्मचारीहरूको बीचमा चर्चा हुन थालेको छ । ट्रेड युनियनको महासचिव बन्न अध्यक्ष र महासचिव दुबैले इच्छा प्रकट गरेपछि युनियन भित्र पनि विवाद चर्किएको युनियन स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार महासचिव पदको लागि महासचिव नै उपयुक्त हुने भएकोले अध्यक्षले यसमा लोभ गर्न नहुने भन्ने र अध्यक्षले जान चाहेसम्म महासचिवले पनि बढी चाहाना राख्न नहुने पक्षमा कर्मचारीहरूको मिश्रित मत रहेकोले यो विवाद अझै टुङ्गिन सकेको छैन । 
 
लामो समयसम्म विवाद चलिरहँदा यो विषय केन्द्रीय समितिबाटै टुङ्गोमा पुग्ने अवस्था सिर्जना भएको कर्मचारीहरू बताउँछन् । तर अधिकांश कर्मचारीहरू भने यो विवादलाई सहमतिमा नै टुङ्ग्याउनुपर्ने पक्षमा देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ