arrow

आयल निगम हरेक प्रदेशमा इन्धन भण्डार क्षमता बढाउँदै, सुदूरपश्चिममा थालियो प्रक्रिया

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
126910824_382367529679130_8.jpg

कैलाली । नेपाल आयल निगमले हरेक प्रदेशमा कम्तीमा ९० दिनका लागि इन्धन भण्डार क्षमता वृद्धि गर्ने अभियानलाई तिव्रता दिएको छ । नेपाल सरकार र नेपाल आयल निगमको घोषित नीति तथा कार्यक्रम अन्तर्गत अहिले धमाधम हरेक प्रदेशमा यो अभियान तीव्र हुँदै गएको छ । 

उक्त क्रममा सुदूरपश्चिम प्रदेशमा पनि भण्डार बन्ने भएको छ । आइतबार (मंसिर ७ गते) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको टोलीले स्थलगत अवलोकन गरेको छ । मन्त्री भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख तथा कर्मचारीसँगै स्थानीय जनप्रतिनिधिसहितको टोलीले कैलालीको गोदावरी नगरपालिका ८ स्याउले स्थित शिवशक्ति महिला सामुदायिक वनको मातहतमा रहेको करिब ३० बिगाहा जमिन प्राप्त गर्न प्रारम्भिक स्थलगत अवलोकन गरेको हो । 

हाल न्यूनतम मात्रामा भण्डारण क्षमता रहेको र पेट्रोलियम पदार्थको बढ्दो मागलाई धान्न सक्ने गरी क्षमता विस्तारका लागि उपयुक्त स्थल देखिएकाले यसको व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गरी सहयोग गर्ने मन्त्री भट्ट, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, जनप्रतिनिधि, शिवशक्ति सामुदायिक वनका अध्यक्ष लगायतमा प्रदेशिक प्रमुख चितरंजन दासले धन्यवादसमेत ज्ञापन गर्दैै प्रेस विज्ञप्ति जारी गरेका छन् । 

यसअघि आयल निगमले किनेका जग्गाहरु विभिन्न ठाउँमा विवादमा आए पनि अहिले भने व्यक्तिको नभई सरकारी जग्गाहरुमै जोड दिँदै आएकाले विवाद नभएको समेत बताइएको छ । 

गण्डकी प्रदेशमा भण्डारणका लागि काम सुरु भइसकेको छ । गत महिनाको कार्तिक २७ गते गण्डकी प्रदेशको पोखरामा नेपालकै दोस्रो ठूलो भण्डारण गृह निर्माणको काम शुरु गरेको हो ।

मन्त्री भट्टले पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको प्रादेशिक कार्यालय परिसरमा अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारण गृहको शिलान्यास गरेका थिए । 

अन्य प्रदेशहरुमा पनि धमाधम भण्डारणका लागि जग्गा खोज्नेदेखि लिएर पूर्वाधार निर्माणको तयारीको काम भइरहेको आयल निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ