arrow

चितवन बाँदरमुढे घटनाको ११ वर्ष, घाईतेको अवस्था सामान्य हुन सकेन

चार जनाले नियमित रुपमा मानसिक औषधि खाइरहेका

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
baburam-bhattrai-jpg.jpg.jpeg
रत्ननगर (चितवन)। चितवनको दक्षिण माडीमा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले उचित न्याय दिन माग गरेका छन् । 
 
बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गर्नुभयो । 
 
न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् । सो घटना भएको आज ११ वर्ष पूरा भएको छ । 
 
विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । 
 
अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए । 
 
अहिलेसम्म घाइतेमध्ये थप चार जनाको मृत्यु भएको छ भने चार जनाले नियमित रुपमा मानसिक औषधि खाइरहेका छन् । अन्य घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । 
 
अधिकारीका अनुसार घटनामा टाउकोमा चोट लागेका घाइते गङ्गाबहादुर गुरुङको दुई वर्षपछि मृत्यु भएको थियो । त्यस्तै चुनु केसीको चार वर्षपछि, नरहरि सापकोटाको डेढ वर्षपछि र नारायणदत्त पौडेलको तीन वर्षपछि निधन भएको थियो । 
 
गएको फागुनमा सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उनीहरुसँग गरेको छलफलसमेत प्रभावकारी हुन नसकेको पीडितले बताएका छन् । 
 
दुई दिन लगाएर आयोगको टोलीले जिल्लाका विभिन्न घटनामा परी आफन्त गुमाएका र पीडित भएका प्रतिनिधि, सरकारी अधिकारी तथा माडी बाँदरमुढे घटना पीडितसँग छलफल गरेको थियो । 
 
सो क्रममा द्वन्द्वपीडितले न्याय दिलाइदिन माग गरेको पीडितले बताएका छन् । मानवता विरोधी घटना भएकाले मेलमिलाप गर्न नसकिने पीडितको प्रतिक्रिया छ । 
 
अधिकारीले घटना पीडितसँग मात्रै छलफल गर्ने भनिएको भए पनि ढुक्कसँग कुरा राख्ने वातावरण नपाएको दुःखेसो गर्नुभएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ