arrow

पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणका उपलब्धिहरुबारे वेबिनार हुँदै

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
kshamawati-school-reconstruction.jpg.jpeg

काठमाडौं । भूकम्पपछिको  पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेबमा आधारित सेमिनार (वेबिनार) आयोजना गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाईहरु समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । 

यी विषयगत अध्यायहरुलाई बृहत् छलफल तथा परामर्शबाट टुंग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार विभिन्न विषयगत अध्यायहरु तयार गर्न प्राधिकरणका अधिकारीहरु एवं विज्ञहरु संलग्न रहेका कार्यसमूहहरु गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । 

थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव संकलन गरिने छ  ।

वेबिनारको उद्घाटन शुक्रबार बिहान ९ बजे हुनेछ । पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ भने दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुनेछ ।

वेबिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहरु, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतका उपस्थिति हुने डा श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ