arrow

सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन : ओली

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
KP-oli-talking.jpg.jpeg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनु भन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।’
 
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औं राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताए । सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको प्रधानमन्त्रीले सुनाए । 
 
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गरे ।  
 
‘महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राखे । 
 
सो अवसरमा प्रम ओलीले सांसदहरु छोवाङतेन्जिन तामाङ, डा भीष्मनाथ अधिकारी, चन्द्र महर्जन, नरबहादुर चन्द, पार्वत गुरुङ, विश्राम चौधरी र राजु खनाललाई घरेलु तथा साना उद्योग प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत सम्मान गरे ।  
 
यसैगरी प्रम ओलीले महासङ्घका पूर्व अध्यक्षहरु ओम गुरुङ, रमेशकुमार श्रेष्ठ, वासुदेव गिरी, पद्मप्रसाद पौडेल, आङटेन्डी शेर्पा, लता प्याकुरेल तथा महिला उद्यमीहरु ईनु पौडेल, मनु केसी, अञ्जना ताम्राकारलाई पनि सम्मान गगरेका थिए ।  दुईदिने सो सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता रहेको छ । सम्मेलनले अगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ