arrow

सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
mount-everest-home.jpg.jpeg
काठमाडौँ । भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ । महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दार (कन्स्टेबल) द्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन् । मकालु एडभेन्जरबाट गएको आरोही दम्पतीले वसन्त ऋतुको मौसममा गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको थियो । उनीहरुले भारतीय प्रहरीबाट दम्पती आरोहण गर्ने पहिलो र विश्वकै सुरक्षा निकायबाट आरोहण गर्ने पहिलो विश्व कीर्तिमान राखेको जिकिर गरिएको छ । 
 
आरोही दम्पतीलाई फुर्वा शेर्पा र फुसेम्बा शेर्पाले सगरमाथाको चुचुरामा पुग्न सहयोग गरेका थिए । मकालु एडभेन्चरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आरोही दम्पतीले सगरमाथाको चुचुरामा पुग्ने आआफ्नो सपना साकार भएको बतायो । सन् २००८ मा विवाह बन्धनमा बाँधिएको सो दम्पतीले सगरमाथा आरोहणपछि मात्रै सन्तान जन्माउने अठोट गरेको थियो । “सगरमाथाको चुचुरोमा पुग्दाको खुसी शब्दमा व्याख्या गर्न सकिँदैन । असाध्यै खुसी लागेको छ, आरोहणका क्रममा तीन जना भारतीय नागरिकको मृत्युको खबरले असाध्यै दुःखी र हतोत्साही बनाएको थियो तर चुचुरोमा पुग्दाको खुसीले सबै बिर्सियौँ हाम्रो सपना पूरा भएको छ, अब बाँकी अभियान पूरा गर्छौं,”– दुवैले आरोहण अनुभव सुनाए । 
 
संयोग नै मान्नुपर्छ, दुवै जना एकै उमेर ३० वर्षका हुन् । सन् २००६ मा प्रहरी सेवामा प्रवेश गरेदेखि नै उनीहरुले सगरमाथा आरोहणको योजना बनाएका थिए । उनीहरुले यसअघि अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल आरोहण र साहसिक स्काइ ड्राइभिङ गरेको बताएका छन् । यस मौसममा भारतबाट मात्रै करिब ७० जना आरोहीले सगरमाथा चढेको बताइन्छ । 
 
आरोही दम्पतीले आफूहरुको आरोहण सफलताले नेपाल पर्यटनका लागि सुरक्षित रहेको र यहाँका हिमाल आरोहण र पदयात्राका लागि विश्वका पर्यटकले सक्छन् भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले भारतीय दम्पतीको सगरमाथा आरोहणले सरकार र जनताबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ