arrow

सौराहाको पर्यटन क्षेत्रमा भ्यालु एड गर्दै बुटिक रिसोर्ट ‘द फरेष्ट फ्रन्ट’ को शिलान्यास

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
the-forest-front.jpg

चितवन । सौराहामा एक अत्याधुनिक सुविधासम्पन्न बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’ सञ्चालनमा आउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक आकर्षक गन्तव्यको रुपमा चिरपरिचित सौराहालाई लक्षित गर्दै उक्त बुटिक रिसोर्ट संचालनमा आउन लागेको हो । 

चितवन घुम्न एवं वन जंगल तथा पर्यावरणीय दृष्यावलोकनका लागि आउने अतिथिलाई पूर्ण सुविधासहित अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याउन लागेको रिसोर्टको सोमबार शिलान्यास भएको छ । 

रिसोर्ट निर्माणस्थल, रत्ननगर नगरपालिका वडा नम्बर ५, बछ्यौली, सौराहामा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय रामेश्वर राय यादवले संयुक्त रुपमा रिसोर्टको शिलान्यास गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, ‘यस्ता सुविधा सम्पन्न होटल रिसोर्टले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै वैदेशिक सीप र अनुभवलाई स्वदेशमा भित्र्याउन मद्दत पुग्नेछ ।’ रिसोर्टले उपलब्ध गराउने सेवा संस्कृतिमूलक हुने विश्वास व्यक्त गर्दै उनले कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रका लागि यस्ता खबर उत्साहप्रद भएको जनाए ।  

यसैगरी सोही समारोहमा आफ्नो मन्तव्य राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले रिसोर्ट सञ्चालनले रोजगारी सृजना गर्नुका साथै देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो रिसोर्ट सञ्चालनबाट विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातावरण भएको सन्देश प्रदान गर्नुका साथै थप लगानी गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।  

यसैगरी रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतका वक्ताले रिसोर्ट निर्माण पश्चात सौराहामा गुणस्तरीय पर्यटकका लागि उचित विकल्प प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्ण खनाल र कञ्चन खनाल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, हानका क्षेत्रीय अध्यक्ष दिपक भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   
    
केटिएम हस्पिटालिटी प्रा.लि.द्वारा बछ्यौली, सौराहा, चितवनमा निर्माण गर्न लागिएको यो रिसोर्ट हाल साढे १२ कठ्ठा जग्गामा फैलिएको छ । कूल २५ हजार वर्ग फिटमा निर्माण सम्पन्न हुने रिसोर्टमा अत्याधुनिक स्पा, स्वीमिङ पुल, कन्फरेन्स हल, मिटिङ रुम, बिजनेश सेन्टर, रेष्टुराँ, बार, लाइभ म्युजिकसहितको सांस्कृतिक कार्यक्रम गर्ने व्यवस्था हुनेछ । 

वन्यजन्तु दृश्यावलोकनको विशेष व्यवस्थासहित पर्यावरण मैत्री मानिने विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन समेत रहने व्यवस्था मिलाइने योजना रहेको छ ।

गुणस्तरीय आतिथ्यता चाहनेका लागि कुनै गुनासो नरहने सेवा प्रदान गर्ने अभियानका साथ अत्याधुनिक रिसोर्ट निर्माण गर्न लागेको रिसोर्टका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामेश्वर शाहले जानकारी दिए । 

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवं सल्लाहकारसमेत रहेका शाहले सौराहामा थप गुणस्तरीय पर्यटकीय सेवा उपलब्ध गराउनका साथै वैदेशिक लगानी भित्र्याउन उत्प्रेरित गरी राष्ट्रिय आयमा वृद्धि गर्ने उद्देश्य आफूहरुको रहेको बताए । 

३४ वटा रुममा ६५ वटा बेड रहने रिसोर्ट सन् २०२२ को नयाँ वर्षसँगै सञ्चालनमा ल्याउने योजना रहेको रिसोर्टमा पर्यटकहरुका लागि बस्न अत्यन्त आकर्षक कोठाहरु उपलब्ध हुनेछन् । जहाँ, यस नगरीका साथै देशको कला संस्कृति, प्राकृतिक छटा र मनोरम दृश्यहरु झल्किने व्यवस्था गरिनेछ । 

कुल प्रारम्भिक लागत अनुमान २५ करोड रुपैँया रहेको यस रिसोर्टले ३० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । सो रिसोर्ट निर्माणको व्यवस्थापन तथा कन्सल्ट्यान्टको जिम्मा केज कन्सल्ट प्रा.लि.काठमाडौंले लिएको छ भनें बैंकिङ्ग साझेदारी नेपाल बंगलादेश बैंक र यसको कन्ट्रयाक्टर प्रोजेक्ट एशिया प्रा.लि. काठमाडौं रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ