काठमाडौं । लामो समयपछि हुन लागेको नेपाल विद्यार्थी सघंको महाधिवेशनको तयारी भईरहदा केन्द्रीय कार्यसमितिको नयाँ स्वरुपको प्रस्ताव पनि तयार भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने नेविसंघको केन्द्रीय समितिको बैठकमा पेश गर्नेगरी नयाँ कार्यसमितिको प्रस्ताव तयार भएको हो ।
संघको विधान संशोधन समितिका संयोजक मनोज कोईरालाको नेतृत्वमा संघ भित्रका विभिन्न पक्षका नेताहरुको संयुक्त बैठकले नयाँ कार्यसमितिको बनावटका बारेमा आधारभुत सहमति जुटाएको छ । सहमती अनुसार नयाँ केन्द्रीय समिति १८६ सदस्यीय हुने भएको छ । रन्जीत कर्णको नेतृत्वमा रहेको संघको अहिलेको मनोनित केन्द्रीय समिति १ सय २१ सदस्यीय रहेको छ ।
संघको नयाँ समितिलाई पर्याप्त समावेशी बनाउने प्रयास गर्दा पदाधिकारी र केन्द्रीय सदस्यहरुको संख्या धेरै हुन लागेको संघका केन्द्रीय सदस्य तथा महामन्त्रीका आकांक्षी मोतीलाल भण्डारीले जानकारी दिए । नयाँ समितिमा उपसभापति मात्रै १३ जना हुने भएका छन् । ति मध्ये प्रदेश प्रमुखको रुपमा हरेक प्रदेशबाट एक एक जना, महिला र जनजातिबाट एक एक जना र खुल्ला दुई गरी ११ जना निर्वाचित हुने छन् भने दुई जना मनोनित हुने भएका छन् ।
सहमहामन्त्रीमा भने उपाध्यक्षमा भन्दा बढी समावेशी बनाउने गरी १७ जना सहमहामन्त्री बनाईने भएको छ । सात प्रदेश, पिछाडीएको क्षेत्र, जनजाति, महिला, उपत्यका, मधेशीबाट एक एक जनाको दरले निर्वाचित हुने भएका छन् भने वाँकी पाँच जना मनोनित सहमहामन्त्री बन्ने भएका छन् ।
संघको जिम्मेवारीको हिसावले दोस्रो शक्तिशाली र बरियताको हिसावले तेस्रोमा तहमा पर्ने महामन्त्रीमा भने दुई जना निर्वाचित र दुई जना मनोनित हुने भएका छन् । कोषाध्यक्षमा भने धेरै नेताहरुको आकांक्षा नदेखिने भएकाले एक जना निर्वाचित हुने व्यवस्था गर्न लागिएको छ ।
विहान ११ बजे बस्ने बैठकमा प्रस्ताव गर्न लागिएको नयाँ कार्यसमितिको संरचना संवन्धी प्रस्ताव अनुसार समावेशीताका आधारमा प्रत्येक प्रदेशबाट सात सात जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिर रहेका आंगीक क्याम्पसहरुबाट १० जना, उपत्यकाका क्याम्पसहरुबाट १० जना, सामुदायीक क्याम्पसहरुबाट ५ जना, पोखरा विश्वविद्यालयबाट १ जना, संस्कृतिबाट दुई जना केन्द्रीय सदस्य बन्ने भएका छन् ।
सिटीईभीटिबाट दुई जना, प्राविधिक क्याम्पसहरुबाट दुई जना, काठमाडौ विश्वविद्यालयबाट एक जना, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयबाट एक एक जना निर्वाचित हुने छन् ।
महिला कोटाबाट भने दश जना केन्द्रीय सदस्य बन्न पाउने भएका छन् । त्यसमा पनि दलित, जनजाति, मधेशी लगायतका विभिन्न समुदायको प्रतिनिधित्व गर्ने गरी समावेशी सिद्धान्तलाई अप्नाईने प्रस्ताव तयार भएको विधान समितिका एक सदस्यले हाम्राकुरालाई बताए ।
बैठकमा विधान संशोधनको प्रस्ताव विधान संशोधन समितिका संयोजक कोईरालाले गर्ने भएका छन् भने महाधिवेशनको नयाँ मिति र स्थानको प्रस्ताव अध्यक्ष कर्णले गर्ने भएका छन् ।
काठमाडौ, पोखरा, चितवन र बिराटनगर मध्ये कुनै एक ठाउमा गर्न समेत प्रस्ताव पेस हुने भएको छ । श्रोतका अनुसार संघको महाधिवेशन आउदो असारको २९, ३०, ३१ गते गर्ने प्रस्ताव अध्यक्ष कर्णले बैठकमा राख्ने भएका छन् । यसअघि पटक पटक मिति तोक्दै स्थगीत हुदै आएको संघको महाधिवेशन अव भने भएरै छाड्ने केन्द्रीय समितिका नेताहरुले दावी गरेका छन् ।
बैठकमा संघको संघको निति तथा कार्यक्रम र शैक्षिक मुद्धाहरुमा पनि गंभिर छलफल हुने संघका प्रवक्ता युपी लामिछनेले जानकारी दिए । एजेण्डा सहित बैठकमा उपस्थीत हुन संघका केन्द्रीय सदस्यहरुलाई एक साता अघि नै पत्र मार्फत् जनाकारी गराईएको पनि लामिछानेले बताए ।