arrow

वनरक्षक बाँस्तोलाको शिकारीले छाडेको बन्दुक पड्केर मृत्यु 

logo
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
banduk.jpg

गाइघाट । बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।  

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार बाँस्तोलाको मृत्यु शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्केर मृत्यु भएको हो । मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेका साहले बताए । 

डिभिजन वन कार्यालय गाईघाटका अनुसार बुधबार राति सबडिभिजन वन कार्यालय तपेश्वरीका दुई जमदार, दुई सिपाही र दुई वनरक्षक गरेर छ जना रात्रिगस्तीमा गएका थिए । 

जङ्गलमा चोरी शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्ने क्रममा शिकारी बन्दुक छाडेर भागेपछि उक्त बन्दुक वनरक्षक बाँस्तोलाले बोकेर गाडीबाट कार्यालयसम्म ल्याएको डिभिजन वन कार्यालय गाईघाटले बताएको छ ।

बाँस्तोलाले राति १० बजे उक्त लोड भएको भरुवा बन्दुक कार्यालयभित्र लाने क्रममा ढोका नजिकै पड्कँदा आफैँलाई लागेर घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताए । 

घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बाँस्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरे पनि मृतकका आफन्तले शव बुझ्न नमानेपछि बिहीबार रातिसम्म शव कार्यालयमै रहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । 

मृतकका एक आफन्तले आफैं बन्दुक पड्कन असम्भव रहेको र यसभित्र कुनै रहस्य भएका कारण छानविन भएर वास्तविकता बाहिर नआएसम्म आफूहरुले शव नबुझ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ