काठमाडौं । पटक पटक स्थगीत भएपनि फेरी गर्ने तयारी गरिएको नेपाल विद्यार्थी संघको महाधिवेश काठमाडौंमै हुने संभावना देखिएको छ । मातृ पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको संघको केन्द्रीय समितिको बैठकको पहिलो दिन बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले काठमाडौंमा नै गर्नु उपयुक्त हुने धारणा राखेकाले महाधिवेशन काठमाडौमै हुने संभावना बढेको हो ।
महाधिवेश असार वा साउनमा गर्ने तयारी भईरहेकाले यी दुवै महिना बर्षा बढी हुने समय भएकाले अन्य ठाउमा गर्न गाह्रो हुने अधिकांश केन्द्रीय सदस्यहरुको भनाई थियो । बैठकमा अध्यक्ष रन्जीत कर्णले काठमाडौ, पोखरा, चितवन र बिराटनगर मध्ये कुन ठाउमा महाधिवेशन गर्नु उपयुक्त होला भन्दै त्यस बारे केन्द्रीय सदस्यहरुको धारणा माग गरेका थिए ।
बैठकमा अध्यक्ष कर्णले महाधिवेशन आउदो असारको २८, २९ र ३० गते गर्ने प्रस्ताव समेत राखेका थिए । मंगलबार देखि सुरु भएको बैठकमा संघको महाधिवेश गर्ने स्थान, मिति र नयाँ संरचनाका बारेमा छलफल केन्द्रीत भएको छ ।
बैठकमा संघको विधान संशोधन समितिको तर्फबाट जम्बो कार्यसमिति सहितको प्रस्ताव पनि पेश गरिएको छ । प्रस्तावमा पदाधिकारीको संख्या र केन्द्रीय सदस्यहरुको संख्या पनि निकै ठुलो बनाउने उल्लेख भएकाले त्यस बारेमा भने केन्द्रीय सदस्यहरु विभाजित भएका छन् । कतिपयले ठुलो आकारको केन्द्रीय समिति बनाउदा काम गर्न गाह्रो हुने बताएका छन् भने कतिपयले लामो समयपछि महाधिवेशन हुन लागेकाले सवैलाई समेट्न ठुलै आकारको केन्द्रीय समिति बनाउनु पर्ने तर्क गरेका छन् । रन्जीत कर्णको नेतृत्वमा रहेको संघको अहिलेको मनोनित केन्द्रीय समिति १ सय २१ सदस्यीय रहेको छ
आज पनि दिउसो १ बजेबाट सुरु हुने बैठकमा संघको निति तथा कार्यक्रम र शैक्षिक मुद्धाहरुमा पनि गंभिर छलफल भईरहेको नेताहरुले जानकारी दिएका छन् । बैठक अझै केही दिन चल्न सक्ने अनुमान गरिएको छ ।