arrow

राति गाडी चलाउन नपाइने !

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
car-driving.jpg

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा दुर्घटना बढेको भन्दै रातिको समयमा गाडी चलाउन बन्द गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी डोटीले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई शुक्रबार एक ज्ञापनपत्र बुझाएको छ । विद्यार्थीले ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन बन्दको मागसहित ज्ञापनपत्र पेश गरेसँगै अहिले यहाँका ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी रोक लगाएको छ ।

जिल्लामा राति सञ्चालन भएकै कारण एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी संयोजक डबल बोहराले बताए । उनले भने, “यहाँका ग्रामीण सडक रातिको समयमा गाडी चलाउन उपयुक्त छैनन्, जति दुर्घटना भएका छन्, सबै दुर्घटना राति नै भएकाले त्यसलाई रोक्न रातिका समयमा गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।”

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको समयमा कुनै पनि मालबाहक तथा यात्रु बोक्ने सवारी साधन (जीप) सञ्चालन कार्य तत्काल बन्द गर्न सम्बन्धित प्रहरीलाई निर्देशन दिएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारवाही गरिने बताए । उनले भने, “रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउन रोक लगाउन भनेको छु, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।” 

राति गाडी चलाएकै कारण जिल्लामा एक वर्षको अवधिमा करिब १२ वटा ठूला सवारी दुर्घटना भई २० जनाको ज्यान गइसकेको र २५ जनासम्म गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

यसैगरी जिल्लामा गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेकोभन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारवाही गर्न माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ