arrow

मुठ्ठीदानबाटै ५० लाखको बालोद्यान निर्माण

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
Gardening-Girl-holding.jpg

महोत्तरी । कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आवद्ध उत्साही युवाको परिश्रमले   सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना लगाएर युवाले बनाएका मनोरम उद्यानमा विभिन्न प्रकारका फूल र अन्य बिरुवा रोपिएका छन् ।

विद्यालय, बन्दव्यापार र सामाजिक गतिविधिसमेत ठप्प भएका बेला  रचनात्मक काम गर्ने लहडले सञ्जालआबद्ध युवाले गत जेठमा बालउद्यान निर्माण शुरुआत गरेका थिए । “हामीले त चाँडै सक्ने भनेर काम थालेका थियौँ । अर्थाभावले चाहेको गतिमा काम बढ्दैनथ्यो । यसैले काम सक्न करिब सात महिना लाग्यो”, सञ्जालका अध्यक्ष परमेश्वर महतोले भने ।

आफ्नो काममा सबैतर्फबाट सकारात्मक चासो र सहयोग पाइँदै गइएपछि उद्यान निर्माणले साकार रूप लिएको उनको भनाइ छ ।

बर्दिवास–९ का बासिन्दा इञ्जिनीयर मनोजकुमार महतोले तयार गरेको लागत इष्टिमेटसहितको उद्यानको प्रस्तावित नक्सा विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरेपछि गत जेठमा काम थालिएको हो । सञ्जालआबद्ध युवा र केही उत्साही स्थानीय युवा (बर्दिवास–९ का) ले दिनरात नभनी गरेका मेहेनतले विद्यालय परिसरको सौन्दर्य झलमलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउछन् ।

उद्यानको प्लटप्लटका पक्की काम सम्पन्न गरेर माटो भरिएपछि बिरुवा रोपण गरिएको हो । उद्यानमा बिरुवा रोपणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, प्रदेशसभा–२ सदस्य शारदा थापा, बर्दिवास नगरप्रमुख बिदुरकुमार कार्कीसहित विभिन्न व्यक्तित्वको सहभागिता भएको पशुपतिनगरकै बासिन्दा विद्यालय सुधार अभियानका सहभागी अमृतकुमार महतो बताउछन् ।

अब विद्यालय परिसरको चारैतिरका पर्खालसँगै जोडेर निर्माण भएका उद्यानमा रोपिएका बिरुवा हुर्काउने नयाँ जिम्मेवारी आएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानीय अभिभावक, नगरपालिकाको वडा समिति र  विद्यार्थीले नवनिर्मित उद्यानबारे देखाएका सकारात्मक चासोले यस जिम्मेवारी सजिलै निर्वाह हुने सञ्जालआबद्ध युवा बताउँछन् ।

जम्मा रु ५० लाखको लागतमा  उद्यान निर्माण सम्पन्न भएको हो । “हामी आफैँ कुटो, कोदालो बोकेर काममा लाग्यौँ”, सञ्जाल अध्यक्ष महतोले भने, “कार्यस्थलमै आएर सहयोगी मनहरुले नगद, इँटा, सिमेण्ट, छडलगायतका निर्माण सामग्री सहयोग गर्नुभयो, सबैको स्नेह र सद्भावले काम सम्पन्न गरिँदा मन हलुको हुनुसँगै खुशी लागेको छ ।”

झट्ट हेर्दा १७-१८ देखि ३५ वर्ष उमेरसम्मका सञ्जालआबद्ध युवा बालउद्यान निर्माणमा घोटिएका थिए  । बर्दिवास–१ कै बासिन्दा जुम्ल्याहा दिदीबहिनी गङ्गा र जमुना यहाँको बालउद्यान निर्माणका नियमित जनशक्तिमध्येका हुन् । उमेरले किशोरावस्थामै रहेका दुवै दिदीबहिनीको आफ्नो मेहेनत सार्थक भएपछि आनन्द लागेको अनुभव छ ।

“लाग्छ, खास काम सम्पन्न गर्‍यौंँ”, कक्षा–११ की छात्रा जमुना भन्छिन्, “बालउद्यान निर्माण सम्पन्न भएर यहाँ ससाना नानी रमाएर खेलेको देख्दा हाम्रो मेहेनत हाँसेको लाग्दैछ ।” बहिनी जमुनाको कुरामा सहमति जनाउने गङ्गाको  पनि रचनात्मक काममा लाग्दाको क्षणले दिएको खुशी विशेष हुने अनुभव छ । बालउद्यान निर्माणमा जुट्नअघि सञ्जालआबद्ध युवा कोभिड–१९ सङ्क्रमणको प्रथम चरणमा चैत तेस्रो सातादेखि वैशाखसम्म पूर्वपश्चिम राजमार्ग र बजारक्षेत्र वरपर भेटिने सडकयात्रीलाई भोजन गराउन जुटेका थिए ।

उद्यान निर्माणको कामलाई टुङ्गोमा पुर्‍याउन युवाले ‘मुठ्ठीदान’ अभियान सञ्चालन गरेका थिए । यस अभियानले उद्यान  निर्माणकार्यमा निकै सघाएको सञ्जालआबद्ध युवा बताउँछन् । ‘मुठ्ठीदान’ अभियानबारे सचेतना बढाउन  स्थानीय लोकभाषा मगही (मैथिलीसँगै मिल्ने स्थानीय जनबोलीको भाषा) मा ‘विद्यालय निर्माणमें जुटियौ’ बोलको गीत पनि भदौ दोस्रो साता नै सार्वजनिक गरिएको थियो ।

सञ्जालले उद्यान निर्माण सम्पन्न गरेसँगै विद्यालयमा थप भौतिक पूर्वाधार बढाउँदै लान नगरपालिकाले सहयोग शुरु गरेको छ । यसक्रममा दुईतलाको आठकोठे भवन निर्माण सम्पन्न भएको छ भने थप भवन निर्माणका चरणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ