काठमाडौं । विवाद उत्कर्षमा पुगेपछि निर्वाचन स्थगित बन्न पुगेको प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय समितिको बैठक बिहीबार पोखरामा बस्ने भएको छ । जेठ २७ र २८ गते गर्ने भनिएको संघको अधिवेशन विवाद चुलिएपछि अनिश्चित कालको लागि स्थगित भएको थियो ।
केन्द्रीय प्रतिनिधिको विषयमा पटकपटक असन्तुष्टि राख्दै आएको असन्तुष्ट पक्षले भने केन्द्रीय समितिको बैठक समेत बहिस्कार गर्ने घोषणा गरेको छ । असन्तुष्ट पक्षले बहिस्कारको घोषणा गरेकै कारण निर्वाचन समेत अनिश्चित कालको लागि स्थगित भएको संघको केन्द्रीय समिति बैठक समेत बहिस्कार गर्ने गरी ११ जना सदस्यको नाम सहित बुधबार असन्तुष्ट पक्षले विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्ती जारी गर्दै असन्तुष्ट पक्षले विवादित विषय टुङ्ग्याउनको लागि छलफल जारी गर्नुपर्नेमा त्यसो नगरी केन्द्रीय समिति बैठक बोलाएको भन्दै बैठकमा उपस्थित नहुने घोषणा गरेको हो । यो विज्ञप्तीसँगै प्रजातन्त्रवादी प्राध्यापकहरूको चुलिएको विवाद अझै साम्य नभएको स्पष्ट भएको छ ।
उता, संघका महासचिव जगत तिमल्सिनाले निर्वाचन स्थगनको प्रस्ताव पारित गराउन बोलाईएको बैठकपनि बहिस्कार गर्नुले असन्तुष्टको नीति नै संघलाई असफल बनाउन खोज्नु रहेको भन्दै आफ्नो संगठनलाई असफल बनाउन नदिने दाबी गरे । उनले भने ‘हामीले असन्तुष्ट पक्षलाई मनाउनकै लागि निर्वाचन पनि स्थगित ग¥यो । अब केन्द्रीय समितिको बैठकपनि बहिस्कार गर्ने हो भने हामीले के गर्ने ?’ असन्तुष्ट पक्ष सहभागी भएन भने के गर्ने भनेर भोलिको केन्द्रीय समिति बैठकले नै निर्णय गर्ने पनि तिमल्सिनाले जानकारी दिए ।
उता, असन्तुष्ट पक्षले भने गहन छलफल गरेर सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य नै नरहको बताएको छ । विज्ञप्तीमा हस्ताक्षर समेत गरेका संघका कोषाध्यक्ष डा. विष्णु पोखरेलले असन्तुष्टको माग पूरा गर्न भन्दा पनि पेलेरै निर्वाचन गराउनको लागि अर्काे पक्ष तल्लीन रहेकोले आफूले केन्द्रीय समिति बैठक बहिस्कार गर्ने घोषणा गर्नुपरेको जानकारी दिए । उनले वार्ता र छलफलबाट समस्याको समाधान गरेर मात्रै अगाडि बढ्न पनि अर्काे पक्षलाई सुझाव दिए ।
यसरी महाधिवेशनको कुरादेखि केन्द्रीय समिति बैठकमा समेत दुई ध्रुब बनेपछि संघको आगामी भविष्यबारे नै चिन्ता बढ्न थालेको छ । कूल २५ सदस्य रहेको संघको कार्यसमितिमा ११ सदस्यले मात्रै बहिस्कारको घोषणा गरेका छन् । ती मध्ये पनि बहिस्कारको घोषणापत्रमा हसक्षर ५ जनाले गरेका छन् भने बाँकीले सहमति जनाएको बताईएको छ ।