arrow

  प्रधानमन्त्रीको जिल्लामा पुगेर डा महतले भने – यो सरकार असफल भैसक्यो 

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
prakash-sharan-mahat1.jpg

झापा । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार पूर्णतः असफल भैसकेको बताएका छन् । नेपाली कांग्रेसको देशव्यापी विरोध सभाअन्तर्गत सोमबार प्रधानमन्त्रीको जिल्ला झापा खटेका डा महतले त्यहाँ आयोजित कांग्रेस सभालाई सम्बोधन गर्दै भने ‘यो सरकारलाई सफल भन्ने कुनै पनि आधार छैनन्, सबै हिसाबले असफल भैसकेको छ ।’
 
डा महतले सरकारले जनताका अप्ठेराहरुलाई सम्बोधन गर्ने कुनै पनि काम गर्न नसकेको दलिल पेस गरे । डा महतको तर्क थियो ‘जनताका नाममा ठूला गफमात्र दिने तर काम भने नगर्ने यो सरकारको बानी नै परेको छ ।’ 

देशमा महामारीका बेलामा पनि भ्रष्टाचार गरेको, औषधिमा समेत कमिसन खान नछोडेको र जसका कारण देशव्यापी रुपमा विरामी तथा संक्रमित नागरिकहरुमा निराशा बढेको, आफ्नै कार्यकर्ता तथा आफन्तलाई मात्र सरकारी निकायमा नियुक्त गर्ने गरेको भन्दै डा महतले अब भने नेपाली जनताले कम्युष्टिको शासन कस्तो हुँदो रहेछ भन्ने बुझेको बताए । 

नेपाली जनता सहनै नसक्ने गरी कुशासनको चक्रमा परेकाले आफैं सडकमा निस्किएको उनको बुझाइ छ । सहमहामन्त्री महतले कांग्रेसले अब सरकारका यी अनेक काण्डहरुको पर्दाफास गर्दै देशव्यापी रुपमा सरकारको विरुद्धमा आन्दोनमा उत्रिने बताए । 

नेपाली जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ नभएर सरकार आफैं कमाउ धन्दामा लागेको उनको आरोप थियो । ‘सरकारलाई कसैको मतलब छैन कमाउने मात्र काम गरिरहेको छ जुनकुरा जनताले देखिरहेका छन्’ उनले भने । 

डा महतले भने, ‘नेकपाकै नेता प्रचण्डले सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई कसरी प्रस्तुत गरेका छन् त्यो हेरेपछि सबै कुरा छर्लंग नै हुन्छ हामीले केही भनिरहनै पर्दैन ।’  

काण्डैकाण्डले सरकार इतिहासमै अति अलोकप्रिय भएको जसलाई अब आफ्नै कार्यकर्ताले पनि नरुचाएका उनले बताए । 

उनले भने, ‘जनतामा यति निराशा बढेको छ कि अब सडकमै आएर सरकारप्रति असन्तुष्टि देखाउन थालिसकेका छन् ।’

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा विरोध सभाहरु गरिरहेको छ । यस क्रममा नेपाली कांग्रेसले सहमहामन्त्री डा महतलाई झापा खटाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ