arrow

१५ वर्षे बालिकामाथि करणी, अपहरण तथा बन्धक मुद्धामा १८ वर्षे युवकलाई १९ वर्ष ४ महिना कैद

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
arrest-final.jpeg

सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । 

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ रु ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । 

आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।

आरोपितले ०७५ मङ्सिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ