arrow

कांग्रेस महाधिवेशन कहिले ? निधि र सिटौलाको प्रस्ताव जेठमा

जिल्लाले सदस्यता डिजिटल सफ्ट्वेयरमा पठाउने, एउटा जिल्लाले मात्र पठायो क्रियाशील सदस्यहरुको विवरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ४ शनिबार
congress-central-meeting.JPG

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र निर्धारित मितिमा महाधिवेशन गर्न नसक्ने पक्का भएपछि वैकल्पिक मितिबारे छलफल शुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दै आइरहेका औपचारिक तथा अनौपचारिक बैठकहरुमा नेताहरु महाधिवेशबारे नयाँ मितिको छलफलमा जुट्दै आइरहेका छन् । 

उपसभापति विमलेन्द्र निधिले पदाधिकारी सहित शीर्ष नेताहरुको बैठकमा जेठमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाइनु पर्ने भन्दै सभापतिलाई सुझाउँदै आइरहेका छन् । उनले १५ जेठ देखि २५ जेठसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइनु पर्ने बताउँदै आइरहेका छन् । 

यसैगरी पूर्व महामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले जेठ भित्रै महाधिवेशन सम्पन्न गर्ने गरी सबै तहका अधिवेशनका कार्यतालिका बनाउन सभापति देउवालाई दबाब दिंदै आइरहेका छन् । सिटौलाले सकिन्छ भने बैशाख अन्तिममा नभए जेठ भित्रसम्म महाधिवेशन सक्ने गरी तयारी गर्नु पर्ने बताउँदै आइरहेका हुन् । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने भदौभित्रै महाधिवेशन हुने बताउँछन् । ‘आगामी भदौभित्र नै महाधिवेशन हुन्छ, मिति चाँहि केन्द्रीय समितिले तय गर्छ’, सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।

म्याद नाघ्यो, सदस्यता आएन
कांग्रेसले पछिल्लो पटक मंसिर मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण गर्न र पुराना सदस्यता नविकरणको काम सक्न ७७ वटै जिल्लामा रहेका पार्टी कार्यालयहरुलाई पत्राचार गरेको थियो । तर मंसिर सकिएर पुस लागिसक्दा समेत एउटा जिल्लाल मात्रै सदस्यता पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार अर्घाखाँची जिल्लाले मात्रै सदस्यता टुंगाएर विवरण पठाएको हो । 

डिजिटल सफ्टवेयरमै सदस्यता पठाइँदै 
कांग्रेस पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालयले बनाएको सफ्ट्वेयरमा नै पार्टीको सदस्यताको विवरण पठाउन जिल्लालाई आग्रह गरिएको र सोही सफ्टवेयरमार्फत नै पार्टीमा जिल्लागत विवरण राखिने तयारी भइरहेको छ । त्यसका लागि कांग्रेसले सबै जिल्ला समितिहरुका प्रतिनिधिलाई जुममार्फत तालिम दिन लागेको उनले जानकारी दिए ।  

कार्यतालिका फेरि परिमार्जन हुने
अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लो पटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने तयारी कांग्रेसको छ । २०७२ को फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १३ औँ महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी ७ देखि १० फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । 

कांग्रेसले अन्तरिम संरचनाको समायोजनको कामसमेत अझै सकेको छैन । कांग्रेस पार्टी कार्यालयले ६५ जिल्लामा समायोजनको काम सकिएको दाबी गर्दै आएको छ । केही जिल्लामा केही वडा र केही स्थानीय तहमा समायोजन नसकिंदा समायोजनको काम अड्किएको छ । 

यसअघि ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निणर्य कांग्रेसले गरेको थियो ।

यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको थियो । 

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना भाइरसको महामारीकै कारण प्रभावित भएको थियो । पार्टीका संरचना समायोजनको काम नसकिएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको कामसमेत सम्पन्न गर्न नसकेको हो । 

कांग्रेसले हरेक महाधिवेशनमा क्रियाशील सदस्यताकै कारण विवाद हुने गरेकाले यस पटक पहिले नै माग बढेको भन्दै शतप्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरिसकेको छ । जस अनुसार कांग्रेसले हाल कायम रहेको करिब पाँच लाख क्रियाशिल सदस्यतालाई बढाएर १० लाख अर्थात दोब्बर बनाउने नीति लिएको हो । 

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथसम्म आठ तह छन् । कांग्रेसले ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्ने छ ।

कांग्रेसले गत मंसिर २९ गते सरकार विरुद्धको शक्ति प्रदर्शनका क्रममा नेता तथा कार्यकर्तालाई सडकमा उतारिसकेको छ । अब कोरोनाले कांग्रेसलाई छेक्न सक्दैन भन्ने पनि स्पष्ट भएको छ । 

त्यसैले पनि जतिसक्यो छिटो अन्तिम मिति तोकेर महाधिवेशनका लागि होमिनुको विकल्प कांग्रेससँग छैन । बुढानीलकण्ठको पदाधिकारी छलफललाई जतिसक्यो छिटो केन्द्रीय समितिमा परिणत गरी पार्टी मुख्यालय बिपीनगरमै बसेर १४ औं महाधिवेशनको मिति तोक्नु जरुरी भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ