arrow

उपराष्ट्रपति शुक्रबार चीन जाँदै

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
vice-president-nanda-bahadur-pun.jpg.jpeg
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबारदेखि चीनको भ्रमण गर्ने भएका छन् । आफ्नो चीन भ्रमणबारे उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज जानकारी गराए  । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी, आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् । 
 
भेटमा राष्ट्रपति र प्रधानमन्त्रीले उपराष्ट्रपतिलाई चीन भ्रमणका लागि शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । राष्ट्रपति भण्डारीले उपराष्ट्रपतिको भ्रमणले चीन र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे  । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि हुन लागेको उपराष्ट्रपतिको भ्रमणले चीन र नेपालको सम्बन्ध झनै मजबुत हुने जनाउँदै शुभकामना दिए । 
 
उपराष्ट्रपतिले आफ्नो भ्रमण दुई देशको सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउनमा केन्द्रित हुने बताए । उनले आफूले चौथो चीन–दक्षिण एसिया मेला, २४ औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने जानकारी गराए । 
 
भेटमा उपराष्ट्रपतिले राष्ट्रपति र प्रधानमन्त्रीसँग सुझाव समेत लिनुभएको थियो । उपराष्ट्रपति चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ११ बजे चीन प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् । 
 
यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह छन् । 
 
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कने छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ