arrow

बारका अध्यक्ष केसी प्रति डिएलएमा चर्को असन्तुष्टी

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Sher-Bahadur-KC.jpg.jpeg
काठमाडौ । काँग्रेस निकट कानुन व्यवसायीहरुको तर्फबाट उम्मेदवार भई नेपाल बार एशोसिएशनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका शेरबहादुर केसीले अहिले तिनै काँग्रेस निकट कानुन व्यवसायीलाई लत्याएर असहयोग गरेका छन् । शनिवार हुने काठमाडौं जिल्ला बारको निर्वाचनका लागि काँग्रेस निकट कानुन व्यवसायीहरुको तर्फबाट भएको उम्मेदवारी घोषणा कार्यक्रममा उनको अनुपस्थीति र निर्वाचनका लागि कुनै सहयोग नगरेको भन्दै उनको चर्को आलोचना भएको हो । 
 
काँग्रेस निकट कानुन व्यवसायीहरुका तर्फबाट उम्मेदवार बन्ने आकांक्षीहरु धेरै भएपछि उनीहरुकै सहमतीमा बनाईएको उम्मेदवार छनौट समितिले छनौट गरेका उम्मेदवारहरुको घोषणा गर्न बानेश्वर स्थीत बानेश्वर बैंकेटमा आयोजित कार्यक्रममा बोल्ने अधिकांशले केसीको भुमीका प्रति खरो असन्तुष्टी पोखेका थिए । 
 
एउटै समुहबाट बारमा विजयी भएका महासचिव खम्व बहादुर खातीले अध्यक्ष केसी प्रति लक्षित गर्दै जटिल अवस्थामा अनिर्णयको बन्दी हुने नेतृत्व घातक भएको गुनासो गर्दा सहभागी सवैले ताली पिटेका थिए । 
 
कार्यक्रममा नेपाल बारका पुर्व अध्यक्षद्धय हरिहर दाहाल र प्रेमबहादुर खड्का, पुर्व महासचिव विजय मिश्र, डेमोक्रेट लयर्स एशोसिएशन (डिएलए) का केन्द्रीय अध्यक्ष भरत खरेल लगायतले केन्द्रीय छनौट समितिद्धारा आधिकारीकता पाएको तेज बहादुर रावल नेतृत्वको समुहलाई साथ दिनु आफुहरुको दायीत्व भएको भन्दै अध्यक्ष केसीको ढुलमुले चरित्रप्रति आक्रोस पोखेका थिए । 
 
डिएलएका केन्द्रीय अध्यक्ष खरेलको संयोजकत्वमा बनेको ९ सदस्यीय छनौट समितिले अध्यक्षमा रावल, उपाध्यक्षमा नारायण प्रसाई, सचिवमा रामचन्द्र कार्की, सहचिवमा लक्ष्मी थापा खड्का, कोषाध्यक्षमा संजीव कुमार लामा र सदस्यमा अन्य १४ जनालाई छनौट गरेको कार्यक्रममा घोषणा गरिएको थियो । 
 
छनौट समितिले रावल नेतृत्वलाई मान्यता दिएपनि काठमाडौं जिल्ला बारकै निर्वाचनका लागि डिएलएमै आवद्ध लक्ष्मण थपलियाको नेतृत्वको समूहले पनि उम्मेदवारी घोषणा गरेको छ । थपलियाको नेतृत्वमा पदाधिकारी तर्फ उपाध्यक्ष अधिवक्ता मदन रेग्मी, सचिव अधिवक्ता छविरमण निरौला, सहसचिव अधिवक्ता रञ्जिता कार्की र कोषाध्यक्ष अधिवक्ता जगन्नाथ श्रेष्ठ रहेका छन् । 
 
दुवै पक्षले आफ्नो समुह अधिकारीक भएको दावी गरेका छन् । तर छनौट समितिका संयोजक खरेलले भने ९ जना मध्ये ६ जनाले रावल नेतृत्वको समुहलाई समर्थन जनाई बहुमतका आधारमा रावलको नेतृत्वलाई आधिकारीकता दिने निर्णय भएको जानकारी दिए । उनले छनौट समितिको निर्णय बमोजिम पार्टीले पनि विज्ञप्ती जारी गरी रावल नेतृत्वको समुहलाई नै आधिकारीकता दिएको बताए । 
 
काठमाडौं जिल्लामा विगतदेखि नै लोकतन्त्रवादी बीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कानुन व्यवसायीमा चुनावी दौडधुप बढेको छ । निर्वाचनका लागि तीनवटा समुह मैदानमा उत्रिएकाले चुनावी माहोल तातेको छ । 
 
विहान ९ बजेपछि काठमाडौं जिल्ला अदालत परिसरमा हुने निर्वाचनका लागि करिब साढे २४ सय मतदाता रहेको सहसचिव पदकी उम्मेदवार लक्ष्मी थापा खड्काले जानकारी दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ