- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालमा पछिल्लो समय सिमेन्ट उद्योगले गति लिएको छ। सन् १९७५ मा पहिलो पटक नेपालमा सिमेन्ट उद्योगको स्थापना भएको थियो। यद्यपि प्रविधि र मेशिनहरुको अभावका कारण इतिहासमा नेपालमा सिमेन्ट उत्पादनको अन्तिम काम मात्रै हुने गर्थ्यो। हाल नेपालमै उच्च प्रविधि र गुणस्तरमा आधारित ठूलठूला सिमेन्ट उद्योगहरु छन्। पर्याप्त मात्रामा खपत पुग्ने गरि सञ्चालनमा आइसकेका बेला अब, अर्थतन्त्र र देश विकासका लागि सिमेन्ट उद्योगले योगदान दिनसक्ने अर्घाखाँची सिमेन्टका बजार प्रबन्धक एवं इन्जिनियर अभिनय जयसवाल बताउँछन्।
देश विकासको सुचकांक सिमेन्ट
कुनै पनि देशको विकासको महत्वपूर्ण क्षेत्र भनेको पूर्वाधार हो। पूर्वाधारका क्षेत्रमा विकास हुँदा देशको समग्र विकास हुने इन्जिनियर जयसवाल बताउँछन्। शिक्षा, स्वास्थ्य, जलविद्युत, सडकलगायतका पूर्वाधारमा क्षेत्रमा विकास हुनु भनेको सिमेन्टको खपत पनि स्वभाविक रुपमा बढ्नु हो। पूर्वाधार क्षेत्रको विकास हुनु देश विकास हुनु पनि हो। यसरी सिमेन्टलाई देश विकासको सुचकांकका रुपमा समेत लिन सकिने इन्जिनियर जयसवाल बताउँछन्।
यसको उदाहरणका रुपमा चीनलाई लिन सकिने इन्जिनियर जयसवाल बताउँछन्। पछिल्ला केही दशकयता चीनले विकासमा छलाङ मारेको छ। विकाससँग सिमेन्टको अन्तरसम्बन्ध यस्तो छ की चीन अहिले विश्वको सबैभन्दा बढी सिमेन्ट खपत गर्ने मुलुक भएको छ। यसरी सिमेन्टको खपत बढ्नु भनेको देशको समग्र विकास हुनु भएको प्रमाणित भएको जयसवाल बताउँछन्।
नेपालमा पनि पछिल्लो समय सिमेन्टको खपत बढ्दै गएको छ। हाल नेपालमा लगभग ४० देखि ५० करोड बोरा सिमेन्ट बार्षिक खपत हुने गरेको छ। त्यसमध्ये नेपालकै कच्चा पदार्थ प्रयोग भएर उत्पादित हुने सिमेन्टले नेपालमा रोजगारी समेत बढाएको छ । नेपालमै उपलब्ध कच्चा पदार्थको प्रयोगबाट नेपालमै रोजगारीको अवसर सिर्जना गरिरहेको अवस्थामा सिमेन्ट उद्योगलाई देश विकासको मुख्य मानकका रुपमा हेर्न सकिने जयसवाल बताउँछन्।
नेपाली सिमेन्टमा विश्वव्यापी गुणस्तर र प्रविधि
विगतमा नेपालमा रहेका सिमेन्ट उद्योगले सिमेन्ट बन्न तयार कच्चा पदार्थलाई पिसेर धुलो बनाउँने९ग्रान्डिंङ०मात्रै गर्दै आएका थिए। तर, हाल नेपालमा १८ वटा उद्योगले नेपालमै चुनढुंगाबाट क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्दै आएका छन्।
त्यस्तै ४३ ओटा उद्योगले क्लिंकर आयात गरेर या नेपालकै उद्योगबाट क्लिंकर किनेर त्यसलाई ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन्। इन्जिनियर जयसवालले अहिले नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने जति क्लिंकर उत्पादन हुन थालिसकेको बताए। यसअघि विदेशबाट क्लिंकरदेखि सिमेन्टसम्म आयात गर्दा भन्सारदेखि विभिन्न किसिमका समस्या हुँदै आउने गरेको थियो ।
अब नेपालमै धेरै उत्पादन हुन थालेपछि यो क्रमश हट्दै गएको छ । सिमेन्टको कच्चा पदार्थ चुनढुंगाबाट क्लिंकर बनाउन एवं ग्रान्डिंङ गर्नको लागि पनि अत्याधुनिक मेसिनहरुको प्रयोग हुँदै आएको छ । सिमेन्ट जति धेरै मसिनो हुन्छ त्यति नै राम्रो हुने इन्जिनियर जयसवाल बताउँछन् ।
उच्च गुणस्तरको सिमेन्ट उत्पादनकै लागि नेपाली सिमेन्ट उद्योगले पनि विश्वकै उत्कृष्ठ मेसिनहरु प्रयोग गर्दै आएको उनको भनाइ छ । नेपालमै गुणस्तरीय सिमेन्ट उत्पादन हुँदा अहिले नेपालका सबै ठूला निर्माण योजनाहरुमा समेत नेपाली सिमेन्ट नै प्रयोग हुने गरेको उनले बताए।
वातावरणमैत्री बन्दै सिमेन्ट उद्योग
सिमेन्ट उद्योगहरु अब, वातवरणमैत्री हुन थालेका छन् । सिमेन्ट उत्पादनका क्रममा कारखानाबाट बाहिरिने सिमेन्टको मसिनो धुलोलाई पनि (इलेक्ट्रोस्टेटिक प्रेसिडेटर) मेसिनबाट तानेर पुनः सिमेन्ट नै बनाउने नयाँ प्रविधिलाई पनि उद्योगहरुले अँगालेका छन् ।
यसो हुँदा सिमेन्ट उद्योगले वातावरण प्रदुषणमा पार्ने ठूलो असर धेरै हदसम्म नियन्त्रण हुने इन्जिनियर जयसवाल बताउँछन् । सिमेन्ट उत्पादनका क्रममा कच्चा पदार्थलाई १४ सय डिग्री सेन्टिग्रेट तापक्रममा पगाल्नु पर्छ। इन्जिनियर जयसवालले भने, ‘यति उच्च तापक्रममा कच्चा पदार्थ तताउँदा धेरै नै ताप र धुँवा निस्किने गर्छ, यसले वातावरणमा ठूलो असर पार्छ, यसैलाई रोक्नका लागि उक्ततापबाट बिजुली उत्पादन गर्न थालिएको छ ।’
सिमेन्ट उद्योगबाट हुने वायु प्रदुषणलाई न्युनिकरण र नियन्त्रणका लागि धुँवाबाट टर्बाइन चलाएर विद्युत उत्पादन गर्न थालिएको हो ।
सिमेन्टको प्रकार र गुणस्तर
विश्वव्यापीरुपमा सिमेन्टका १० भन्दा बढी प्रकारहरु रहेका छन् । ओपिसी र पीपीसी जस्तै सिमेन्ट आवश्यक्ता अनुसार उत्पादन गरिने इन्जिनियर जयसवाल बताउँछन् । ‘जस्तै ड्यामका लागि एक किसिमको सिमेन्ट उत्पादन हुन्छ भने पुलका लागि अर्कै,यद्यपी सबैको आधार भनेको क्लिकर नै हो’ उनल भने ।
सानो बजार भएका कारण नेपालमा भने मुख्यरुपमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन हुनेगर्छ । ओपिसी सिमेन्ट छोटो समयमा स्ट्रेन्थ दिनका लागि प्रयोग हुन्छ भने पीपीसी अलि बढी समय लगाउँछ ।
जयसवालले भने, ‘यो सिमेन्ट राम्रो त्यो नराम्रो भन्न मिल्दैन, फरक भनेको ओपीसीले २८ दिनमा स्ट्रेन्थ दिन्छ भने पीपीसीले केही समय लगाउँछ यो एउटा भिन्नता हो ।’ सबै उद्योगहरु नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डमा आधारित भएर सञ्चालन हुँने हुँदा सिमेन्टको गुणस्तरमाथि पनि प्रश्न गर्न नमिल्ने जयसवाल बताउँछन्।
खर्च कटौती
सिमेन्टको मूल्यमा हुने केही तलमाथिको विषयमा जयसवालले स्पष्ट पारेका छन्। मुख्यरुपमा हेटौंडाको सिमेन्ट उद्योगको सिमेन्ट हेटौंडामा केही सस्तो पर्ने र काठमाडौंमा महंगो पर्ने जयसवाल बताउँछन्।
यसरी नै काठमाडौंको सिमेन्ट उद्योगको सिमेन्ट काठमाडौंमा सस्तो र हेटौंडामा महंगो हुन्छ। यसको एउटै कारण यातायात अर्थात भाडादर भएको जयसवालको भनाइ छ। नेपालमा सिमेन्टको मूल्यमा भाडादरकै कारणले मूल्य भिन्नता हुने गरेको उनको भनाइ छ। त्यस्तै उत्पादनको मात्रा अनुसार पनि मूल्यमा तलमाथि हुने उनको भनाइ छ। दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्नुभन्दा दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा मूल्य सस्तो पर्न जाने इन्जिनियर जयसवाल बताउँछन्।
यतिमात्रै हैन्, खर्च र कामदार घटाउनकै लागि उद्योगहरुले नयाँ किसिमको सिमेन्ट बाहक गाडी समेत प्रयोगमा ल्याएको जयसवालले बताए।
जलविद्युत एवं भवन निमार्ण जस्ता ठूला सिमेन्ट खपत हुने ठाउँमा बोराका दरले सिमेन्ट पठाउँदा बोराको खर्च लोडअनलोडको खर्च अब, कटौती हुन थालेको छ। यस्ता ठूला विकास निमार्णका क्षेत्रमा ‘बलकर’ भनिने ट्रकको प्रयोग हुन थालेको छ।
जसरी तेल बोक्ने ट्यांकरले तेल बोक्छ त्यसरी अब भलकले पनि ठूलो मात्रामा सिमेन्ट बोक्नेछ। विश्वमा भित्रिदै गरेको यस्तो नयाँ प्रविधि नेपालमा पनि चाँडै नै भित्रिदै जाँदा सिमेन्ट उद्योग विश्वव्यापी मापदण्ड र गुणस्तरको बन्दै गएको जयसवालले बताए।
नेपालमा सिमेन्ट उद्योगको भविष्य
सिमेन्ट देश विकासको सुचकांक मात्रै हैन्, सिमेन्ट उद्योगले अब भविष्यमा धेरै नै क्षेत्रमा बजार बढाउने जयसवालको भनाइ छ। नेपालको सन्दर्भमा अर्थतन्त्रलाई सिमेन्ट उद्योगले ठूलो सहायता प्रदान गरेको छ। अब, नेपाली उद्योगहरुले चाँडै नै सिमेन्ट निर्यात गर्ने क्षमतामा पुगिसकेको इन्जिनियर जयसवाल बताउँछन्। रोड पीचका लागि अलकत्राको ठाउँमा अब, सिमेन्टको प्रयोग बढन थालेको छ।
अलकत्रा भन्दा सिमेन्टले पीच गरिएका रोडहरु बलियो र दिगो हुने देखिएको छ। योसँगै अब, विश्वव्यापी रुपमा रोड पीचका लागि सिमेन्टको प्रयोग हुने सम्भवाना बढ्दै गएको इन्जिनियर जयसवाल बताउँछन्। हाल सिमेन्टले पीच गरिएका रोड र अलकत्राले पीच गरिएका रोडमध्ये कुन दिगो हुन्छ भन्ने विषयमा अध्ययन एवं अनुसन्धान भइरहेको र सोही अनुसार विश्वव्यापी रुपमै सिमेन्टको बजार बढ्दै जाने उनको तर्क छ।
पछिल्लो समय नेपालमै समेत धेरै ठाउँमा सिमेन्टले पीच गरेका रोडहरु बढ्दै गएको देखिएको उनले बताए। यसबाहेक माटोको ईटा बनाउँनु भन्दा सिमेन्टको ईटा सहज, सस्तो र झन रामो हुन थालेको छ। जयसवाल भन्छन्, ‘माटोको ईटाको ठाउँमा अब, सिमेन्टकै ईटा प्रयोग बढ्दै गएको छ। यो गुणस्तरियसँगै सस्तो पनि पर्न जान्छ।’
सिमेन्ट उद्योगले दिएको फाइदा
नेपालमा ठूला पूर्वाधारका क्षेत्रमा समेत नेपाली सिमेन्ट नै प्रयोग हुन थालेपछि अर्थतन्त्रमा सकारात्मक असर परेको छ। यतिमात्रै हैन्, सिमेन्ट उद्योगले देशमा रोजगारीको समेत ठूलो अवसर सिर्जना गरेको छ।
गुणस्तरको विश्वव्यापी मापदण्ड अनुसारको सिमेन्ट नेपालीहरुले सुलभ मूल्यमा प्रयोग गर्न पाएका छन्। वातावरणमा हानी नपर्ने किसिमले सरकारी शर्तहरु पालना गर्दै स्वदेशमै कच्चा पदार्थको सदुपयोग समेत सिमेन्ट उद्योगका माध्यमबाट भएको छ। यस्तै सिमेन्ट उद्योगहरुले अस्पताल निमार्ण, मन्दिर निमार्ण, मास्क वितरण जस्ता सामाजिक उत्तरदायका क्षेत्रमा समेत काम गर्दै आएका छन्।
यद्यपि पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगका क्षेत्रमा पनि विदेशी लगानी भित्रिन थालेका छन्। यद्यपी सिमेन्ट उद्योगमा विदेशी लगानीको आवश्यकता नदेखिएको अर्घाखाँची सिमेन्टका बजार प्रबन्धक जयसवालको भनाइ छ।
‘अर्घाखाँची सिमेन्टले नेपाली बजारमा नम्बर एक बनेर बजार विस्तार गर्नुमा पहिलो कारण त विश्वव्यापी मापदण्डको ओपिसी र पीपीसी सिमेन्ट उत्पादन नै हो’ जयसवाल बताउँछन्।
देशका ठूलो पूर्वाधारका योजनामा अर्घाखाँची सिमेन्ट प्रयोग हुँदै आएको छ। विभिन्न हाइड्रोपावरदेखि सुरुङजस्ता संवेदनशिल पूर्वाधारका क्षेत्रमा विश्वसनियताका साथ अर्घाखाँची सिमेन्ट प्रयोग हुँदै आएको छ। जयसवाल भन्छन्, 'गुणस्तरमा विश्वस्तरीय मापदण्ड पुरा गरेकै कारण उपभोक्ताहरुले अर्घाखाँची सिमेन्ट नेपालको ७७ वटै जिल्लामा प्रयोग हुँदै आएको छ।'