arrow

देउवाको प्रश्न: यस्तो अवस्थामा काँग्रेस पनि सरकारमा गयो भने जनताको हालत के हुन्छ ?

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Sherbahadur-deuba-news-fnl-.jpg.jpeg.jpeg
'सरकार संविधान कार्यान्वयनप्रति गम्भिर भएन'
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भिर नभएको बताएका छन्।
 
संविधान कार्यान्वयन नहोस् भनेर मुलुकमा ठूलो षडयन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै सभापति देउवाले त्यसमा वर्तमान सरकार सजग हुन नसकेको आरोप लागए। संविधान कार्यान्वयनका लागि विसं २०७४ मङ्सिरसम्म स्थानीय, प्रादेशिक र सङ्घीय तीन तहका निर्वाचन हुनु अपरिहार्य रहेको र त्यसका लागि धेरै काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले भने – “यसमा सरकारले कुनै तयारी गरेको छैन।”
 
नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज  सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन सहयोग गर्न सकिने बताए।
 
नागरिकलाई देशको मालिक बनाउन सुशासन, आत्मविश्वास, स्वाभिमान र सम्मान आवश्यक पर्ने बताउँदै सभापति देउवाले भने, “शासनमा रहेका व्यक्ति सधैँ राम्रो शासन चलाउँछन् र जनताप्रति इमान्दार हुन्छन् भन्ने छैन।” उनले सरकारलाई निगरानी, नियन्त्रण र सन्तुलन गर्न विपक्षीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
 
सरकारका मनपरी क्रियाकलापका विरुद्ध विपक्षीको भूमिका कमजोर भयो भनेर आफूकहाँ गुनासो आइरहेको जानकारी गराउँदै उनले प्रश्न गरे – “यस्तो अवस्थामा काँग्रेस पनि सरकारमा गयो भने सामान्य जनताको हालत के होला।”
 
आफू सहमतिको सरकारका पक्षमा रहेको स्पष्ट पार्दै सभापति देउवाले सबै मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार हुन नहुने धारणा राखे।
 
केही समयअघि भएको सरकार परिवर्तनका बारेमा उनले विपक्षी पार्टी भनेको वैकल्पिक सरकार पनि हो भने। सत्ता गठबन्धनमा रहेको पार्टीले सरकारमा बस्दैनौँ, सरकार हटाउन चाहन्छाौँ भनेपछि आफ्नो पार्टीले नयाँ सरकारका लागि कदम चालेको स्पष्ट पारे।
 
मधेसको समस्या समाधानका लागि आफू र आफ्नो पार्टीले पहल गरिरहेको जानकारी गराउँदै उनले मधेसी दलहरुले पनि शतप्रतिशत माग पूरा गराउने अडान र मधेसी दललाई केही पनि दिनुहुन्न भन्ने मानसिकता त्यागेर वार्तामा बसे समाधान हुने बताए।
 
कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमतिको आवश्यकता रहेको औँल्याए। उनले नागरिक बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने भन्दै समुन्नत समाज निर्माणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए।
 
नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने धारणा राख्दै यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए।
 
काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वाेपरी महत्वको विषय भएको बताए।
 
कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, उपाध्यक्षद्वय प्रा अयुदा श्रेष्ठ र रिसव घिमिरे, समाजको काठमाडौँ शाखाका अध्यक्ष दीपक थापाले सरकार र समाजका विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
 
कार्यक्रममा नागरिक अधिकारका लागि विशेष योगदन पुर्‍याएबापत विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो भने नागरिक आवाजको सुशासन विशेषाङ्क विमोचन गरिएको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ