arrow

मृत्यु भएको तीन महिनापछि महेन्द्रको अन्त्येष्टि

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
sarlahi-congress1.jpg

सर्लाही। छिमेकीको कुटपीटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र महरा रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ। सङ्घीय सरकारले पाँच लाख रुपियाँ आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका परिवारले रामको शव बुझेर आज अन्त्येष्टि गरेका हुन्। नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रामको सिसौटस्थित मनुष्मारा खोलामा अन्त्येष्टि गरिएको हो।

कांग्रेसका जिल्ला सभापति एवं निवर्तमान सङ्घीय सांसद नागेन्द्र कुमार राय, जिल्ला उपसभापति सुरेन्द्र सिंह, प्रदेशसभा सदस्य द्वोय वीरेन्द्र कुमार सिंह र उपेन्द्र कुशवाहा लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर रामप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। मृतक रामका परिवारलाई पाँच लाख रुपियाँ उपलब्ध गराउने मन्त्रीपरिषदबाट निर्णय भएकोबारे औपचारिक जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

गत असोज २१ गते छिमेकीहरुसँगको विवादका क्रममा कुटपीटबाट घाईते भएका महेन्द्रको उपचार गर्दागर्दै वीरगन्जमा मृत्यु भएको थियो। तीन महिनासम्म नारायणी अस्पताल वीरगञ्जमा रहेको मृतकको शव पाँच लाख रुपैयाँ पाउने भएपछि आज गाउँ ल्याएर अन्त्येष्टि गरिएको हो। सो घटनामा संलग्न तीन जना पूर्पक्षमा कारगार चलान भएका छन् भने मुद्दा दायर भएका केही व्यक्ति फरार रहेका जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।

कांग्रेसले सत्ताधारी नेकपाका कार्यकर्ताको कुटाईबाट महेन्द्रको मृत्यु भएको दावीसहित मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप दस लाख रुपैयाँ उपलब्ध गराउन र कुटपीटमा संलग्नलाई कारवाही गर्न माग गर्दै सदरमुकाम मलङ्गवामा पटक–पटक प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा झडप हुँदा प्रहरी र प्रदर्शनकारी गरी चार दर्जन बढी घाईते भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ