arrow

सकारात्मक सोचका साथ सत्मार्गमा लाग्नुपर्नेमा जोड

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
काठमाडौँ । समाजमा बौद्ध शिक्षा तथा दर्शनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत दुई महिनादेखि जारी  'बौद्ध प्रवचन’ आज सम्पन्न भएको छ । 
 
चिलङ्खा शेर्पा समाजद्वारा समाजमा नैतिक शिक्षाको विकास गरी देशमा शान्ति तथा समुन्नति कायम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महायानी सम्प्रदायका महत्वपूर्ण ग्रन्थका प्रवचन गरिएको थियो । महायानी परम्परानुसार ‘मतिशोधन’ अर्थात् मस्तिष्क शुद्धीकरणका उपाय, मनोवैज्ञानिक एकाग्रता, दुर्लभ मनुष्य जीवन, अनित्य जीवनको भावना, संसारको दोष, कर्म र फल लगायत विषयमा प्रवचन दिइएको थियो । 
 
प्रत्येक शनिबर दिइएको प्रवचनमा समाजमा हिंसात्मक गतिविधि न्यूनीकरण गर्ने र कुलतमा परेकालाई सुधार्ने उपायका बारेमा समेत शिक्षा दिइएको थियो । बौद्ध विद्वान् टीका शेर्पाले प्रवचन दिएका थिए । उक्त प्रवचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट अनुयायीको सहभागिता थियो । नेपाली, तिब्बती र अङ्ग्रेजी भाषामा राम्रो दखल भएका विद्वान् शेर्पाले बौद्ध साहित्यमा धेरै खोज अनुसन्धान गरी कृतिसमेत प्रकाशन गरेका छन्  । 
 
शेर्पाले धेरै पुण्यपछि मनुष्य जीवन प्राप्त हुने हुँदा यसलाई सदुपयोग गरी जीवन सार्थक बनाउन आग्रह गर्दै जीवन नाशवान रहेकाले धर्म तथा पुण्य सञ्चयका लागि प्रेरित गरे । उनले मानिसले जस्तो कर्म ग¥यो त्यस्तै फल प्राप्त गर्ने हुँदा सकारात्मक सोचका साथ सत्मार्गमा लाग्नुपर्नेमा जोड दिए । 
 
समाजका अध्यक्ष लाक्पा शेर्पाले बौद्धदर्शन मानवकल्याणका लागि महत्वपूर्ण र उपयोगी रहेको बताउँदै सम्बन्धित साहित्य र उपदेशका प्रचारका लागि आफ्नो संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ