arrow

मधेसवादीलाई ओलीले सोधे, ‘केमा चित्त बुझेन र के अन्याय भयो ? प्रष्ट कुरो गर्नुस्’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ जेठ २९ शनिबार
pm-oli-by--tarni-koirala.JPG.jpeg
विराटनगर । प्रधानमन्त्री केपी ओलीले जनताका जायज मागहरुलाई संविधान संशोधन गरेर समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् । 
 
रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको सहकार्यमा विराटनगर उपमहानगरपालिका –५ खार्जी स्थित निर्माण गरिन लागिएको रेडियो नेपालका संस्थापक स्व.तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज मागहरुलाई वार्ता, छलफल, सहमती, सहकार्य र संविधान संशोधन गरेर समाधान गर्न सरकार जुनसुकै समय तयार रहेको बताएका हुन् । 
 
प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यो सरकारले जायज माग पुरा गर्ने भन्दै वार्तामा आएर के समस्या छ त्यो ल्याउन आन्दोलनरत मधेसवादी दलहरुलाई आग्रह गरे । उनले मुलुकलाई आन्दोलन, बन्द–हड्ताल गरेर गरिब बनाइराख्ने नगरी संविधान कुन ठाउँमा संशोधन गर्नुपर्छ त्यो गर्न सरकार तयार रहेको स्पष्ट पार्दै लोक कल्याणकारी राज्यको अवधारणाबाट मुलुकलाई विकासको गतिमा बढाई समृद्ध बनाउन सरकार सदैब अग्रसर रहेको धारणा राखे । 
 
ओलीले भने, ‘गन्तव्य र स्पष्ट नभएको अमूर्त कुरा गरेर र सबैलाई चित्त बुझाउनु पर्‍याे , सम्बोधन हुनुपर्‍याे भनेर पपुलिष्ट कुरा गरेर अब देश बन्दैन । मूर्त कुरा कहाँ के हुनुपर्छ ? केमा चित्त बुझेन र के अन्याय भयो ? स्पष्ट संग कुरा ल्याए वर्तमान सरकार सबैलाई चित्त बुझाउन, न्याय दिन दृढ संकल्पित छ ।’ 
 
मुलुकको अग्रगमन, विकास निर्माण र समृद्धिको गतिलाई अवरोध पुर्‍याउने र देशलाई विखण्डन गर्ने सोचबाट सबै मुक्त हुनुपर्ने र त्यस्तो सोच कुनैपनि हालतमा पुरा हुन नदिन सरकार दृढ रहेको ठोकुवा गरे । 
 
प्रधानमन्त्री ओलीले संचारविहिन अवस्थाबाट संचारको युगमा लैजाने र आधुनिक नेपाल निर्माण गर्नुपर्छ भन्ने सोच भएका स्वर्गिय तारिणी प्रसाद कोइरालाको योगदानको कदर गर्दै संञ्चारग्राम निर्माण गर्न लागिएको स्पष्ट पारे । 
 
कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले वर्तमान सरकार नयाँ संञ्चार निति ल्याएर देशको संञ्चार क्षेत्रलाई मर्यादित, जिम्वेवार, उत्तरदायी, व्यवसायिक बनाई मुलुकको आर्थिक विकास निर्माण र समृद्धिमा लगाउन लागिपरेको बताउनुभयो । मन्त्री राईले विराटनगरमा शिलन्यास भएको स्वर्गिय तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्राम अत्याधुनिक, सुविधा सम्पन्न, सूचना प्रविधि यूक्त हुनाको साथै संञ्चार र प्रेस जगतमा काम गर्नेहरुको लागि तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित हुने जानकारी दिए ।  विराटनगर उपमहानगरपालिको निःशुल्क उपलव्ध गराएको ७ कठ्ठा जग्गामा संञ्चारग्राम निर्माण हुनेछ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले १८ महिनामा रेडियो नेपालले तयार पारेको योजना र नक्सा अनुसार संञ्चारग्राम निर्माण गरी हस्तान्तरण गरिने जानकारी दिए ।
 
८ करोड रूपैयाँको लागतमा निर्माण हुने संचारग्राममा करिब ३ सय जना अट्ने हल र अर्को मिट द प्रेश हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गित रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गीत संगीतका कार्यक्रमहरु संचालन गर्ने कोठाहरु हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिए । उनले यसको लागि रेडियो नेपालले पहिलो चरणमा यसअघि नै विराटनगर उपमहानगरपालिकालाई ३ करोडको चेक हस्तान्तरण गरिसकेको जानकारी समेत दिए । 
 
नेपालमा प्रजातन्त्रको स्थापनासंगै स्वर्गिय कोइरालाले २००७ सालमा विराटनगरस्थित जुटमिलबाट प्रजातन्त्र रेडियोको नामबाट रेडियो प्रसारण प्रारम्भ गरेका थिए । सोही रेडियोलाई पछि नेपाल रेडियो हुँदै रेडियो नेपाल बनाइएकोले संस्थापकको सम्झनामा रेडियो नेपालले संचारग्राम निमार्ण गर्न लागेको सूचना तथा संञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ