arrow

कांग्रेसी कर्मचारीमा यसरी मिल्दैछ कुरा, एमाले पनि सर्वसम्मतको कसरतमा

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
karmachari-new-FNL.jpg.jpeg
काठमाडौं । गत जेठ १९ गते भएको नेपाल निजामती कर्मचारीको निर्वाचनमा दोस्रो बनेको नेपाल निजामती कर्मचारी युनियन (संघ)ले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनमा कसलाई पठाउने भन्ने विषयमा नयाँ सहमतिको कसरत गरेको छ । 
 
निर्वाचन समितिले आफ्नो भागमा आएको महासचिव पदको लागि प्रतिनिधि पठाउन भन्दै पत्र लेखिसकेको खण्डमा जतिसक्दो चाँडो सहमति गर्नुपर्ने दबाबकाबीच युनियनले नयाँ विकल्पमा सहमति गर्न खोजेको युनियन सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
 
लामो समयदेखि अध्यक्ष सुबोध देवकोटा र महासचिव जीत बहादुर मडैबीच महासचिवमा को जाने भन्ने विषयमा टकराव देखिएपछि दुबैजनाले ‘विन विन पोजिसन’को लागि नयाँ विकल्प अघि सारेका हुन् । यस्तो विकल्पमा महासचिवमा अध्यक्ष देवकोटा जाने र कार्यबाहक अध्यक्षमा मडैलाई जिम्मेवारी दिने सहमति हुन लागेको स्रोत जनाएको छ । 
 
निर्वाचनमा दोस्रो स्थान आएसँगै काँग्रेस निकट युनियनले महासचिव पद पाएको थियो । तर, महासचिवमा दुई आकाँक्षीबीच कडा टक्कर पर्दा अहिलेसम्म पनि महासचिवमा को जाने भनेर निश्चित हुन सकेको छैन । यसरी विवाद लम्बिदै जाँदा केन्द्रिय समितिको मतदानबाट नै विवाद टुङ्ग्याउनुपर्ने समेत माग उठ्न थालेपछि सहमतिको यस्तो नयाँ विकल्प खोजिएको हो । यसले युनियनप्रति सबैमा सकारात्मक सन्देश जगाएको युनियन सम्वद्ध कर्मचारीहरूले बताउने गरेका छन् । 
 
उता, एमाले निकट कर्मचारीहरू पनि सहमतिको लागि दौडधूप गरिरहेको बुझिन आएको छ । पूर्व अध्यक्ष भोला पोखरेल र अध्यक्ष पुण्यप्रसाद ढकाल दुबैलाई अध्यक्ष बनेर जान आकांक्षा बढेको कारण संगठनले पनि अहिलेसम्म अध्यक्ष चयन गर्न सकेको छैन । संगठनका अध्यक्ष ढकालले सहमतिको अन्तिम चरणमा रहेको भन्दै जेठ मसान्तसम्ममा संगठनले पनि सहमति गरेर सर्वसम्मत अध्यक्ष चयन गर्ने दाबी गरे । तर, यसमा कसले कति लेनदेन गर्ने भन्ने विषयमा भने अझै टुङ्गो लाग्न बाँकी नै रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ