arrow

बयालीस बिजुली चोरहरुलाई कारबाही 

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
bijuli-ka-tar.jpeg

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  ।

कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ ।

प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए । यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । 

यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट रु ५७ लाख २४ हजार ८५३ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनीयर साहको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कूल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत् हुकिङ गरेर चोरी गर्नेको सङ्ख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ