arrow

सडक र सरकारमा रहेका कम्युनिष्टहरु निर्वाचन चाहँदैनन् नाटक मात्रै हो – खड्का 

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
bharat-bahadur-khadka.jpg

प्रकाश बम । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कांग्रेसको काँधमा घाइते संविधानको रक्षा गर्ने जिम्मेवारी आएको बताए । नेपाली कांग्रेस शिखर नगर समितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले नेपालका सबै राजनीतिक शक्तिहरुसँग समन्वय गरेर कांग्रेसले घाइते संविधानको रक्षा गर्नुपर्ने बताएका हुन् ।

देश अहिले पनि तरल अवस्था गएको र दुर्घटनातिर उन्मुख भएका कारण राष्ट्रिय मेलमिलापको आज पनि उत्तिकै सान्दर्भिकता रहेको बताउँदै उनले आज पनि नेपाली कांग्रसको नेतृत्वले सबै तह र तप्काले नेपालका सबै राजनीतिक शक्तिहरुसँग समन्वय गरेर घाइते संविधानको रक्षा गर्न अनुरोध गरे ।

देश र जनताको भलो संविधानको रक्षामा मात्रै भएको बताउँदै सांसद खड्काले संविधान भत्क्यो भने मुलुक अझै दुर्घटनामा जान्छ तसर्थ सबै मिलेर संविधानको रक्षा गरौं । यो दुर्घटना संसद विघटन निर्वाचनका लागि नगरिएको बताउँदै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।

‘वर्तमान अवस्थामा कांग्रसलाई अवसर पनि छ । चुनौती पनि छ । अप्ठेरो पनि छ, सांसद खड्काले भने, ‘अन्तराष्ट्रिय शक्तिहरुलाई पनि सनतुलनमा राख्नु पर्ने, अहिलेको प्रखर नेतृत्व दिनुपर्ने र आन्तरिक शक्तिहरुलाई पनि एकजुट बनाएर वर्तमान संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।’

कांग्रेसले यो जटिल अवस्थामा संयमितता र जिम्मेबारीका साथ असाधारण अवस्थामा सालिन तरिकाले समाजको अभिभावकत्व लिनु पर्ने बताए । अब कांग्रेस गुट र उप गुटको आधारमा नचल्ने बताउँदै उनले कांग्रेस माथि देखि तलसम्म एक ढिक्का भएर वर्तमान असाधारण परिस्थितिको सहजिकरण गर्न लाग्नु पर्ने बताए । अहिलेको अवस्थामा व्यक्तिको कुरा, गुटको कुरा नभएर राष्ट्र र संविधानको रक्षाको कुरा भएकाले एक ढिक्का भएर एक ठाउँमा उभिनु पर्ने उनको भनाई थियो ।

हाम्रो प्रधान कुरो सत्ता होईन हाम्रो प्रधान कुरो यो देशको रक्षा गर्ने हो,खड्काले भने,‘यो देशको रक्षा यसै संविनको रक्षाबाट हुने हो । अहिले कांग्रेसको ध्यान त्यता तिर छ । अहिले पनि कांग्रेस यहाँको संस्थापन पक्ष हो त्यो हैसियत हामिसंग छ हाम्रै नेता संग छ ।’

संसद विघटनपछि सडकमा बसेको प्रचण्डले र सत्तामा बसेको केपीले पनि निर्वाचन नचाहेको बताउँदै उनले यो एक नाटक मात्र भएको बताए । ‘दुर्भाग्यबस संसद पुनरवाहली भैदिएन भने बैशाख पछिको अवस्था जटिल हुन्छ ,उनले थपे, ‘चुनाव भएन भने देश सैन्यकरणतिर जान्छ । म भन्न चाहन्छु महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री ज्यू तपाइले विघटन गरेको सरकार र संसदका कारण तपाइलाई पहिलो र दोस्रो पटक जेल जानु पर्ने अवस्था आउँछ ।’

सांसद खड्काले मुलुकलाई यो भन्दा थप दुर्घटना हुने तर्फ सचेत बन्न आग्रह गरे । कांग्रेस कसैको विरोधमा नरहेको बताउँदै उनले बहुदल व्यवस्थाका सबै पार्टीहरु प्रतिस्पर्धि भएकाले नेपाली कांग्रेस सहअस्तीत्वलाई स्वीकार गर्ने बताए । उनले भने,‘हामी कसैलाई गाली गलौच गर्दैनौ । यो देशको राष्ट्रय अस्मितालाई कसरी बचाउँने यो हाम्रो अभिभारा हो । नेपाली कांग्रेस डोटीमा एक छ, एकिकृत रुपमा यो जटीलतालाई सहजताका साथ समाधान गर्न चाहन्छ ।’

कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले सबैका अधिकार सुनिश्चित गरेर ठूलो त्याग तपस्या बाट प्राप्त संविधान माथि कम्युनिष्ट सरकारले कु गरेको बताए । अहिले आन्दोलनमा आएका र सरकारमा बसेका कम्युनिष्टहरू गद्दार र राष्ट्रघाती भएको बताउँदै जोशीले तिनकै कारण लोकतन्त्र संविधान र मुलुक धरापमा परेको बताए ।

विगत देखि नै मुलुकमा संकटमा परेको समयमा कांग्रेसले निकास दिएको ईतिहास जगजाहेर रहेको बताउँदै अहिलेको संकट पनि कांग्रेसले मात्रै हटाउन सक्ने बताए । अब जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएर लग्नुको विकल्प नरहेको क्षेत्रीय सभापति जोशीको भनाई छ ।

नगरमा लागुभएका प्रदेश र संघका योजनाहरुमा भ्रष्टाचार भएको बताउँदै नगर प्रमुख जोशीले योजनाका बारेमा नगरपालिकालाई जानकारी नै नगरी बदमासी हुने गरेको बताए । त्यस्ता योजना र व्यक्तिको नगरले निगरानी राखेको बताउँदै उनले त्यस्ता योजनामा संलग्न व्यक्तिलाई नछाडेने बताए ।

कांग्रेस नेता राम रोकायाले वर्तमान कम्युनिष्ट सरकार र तिनका मतियारले देशलाई अन्धकारमा धकेलेको बताए । संविधान माथि असंवैधानिक कदम चालेर कु गरेको बताउँदै यसका विरुद्ध देशव्यापी संघर्ष गर्ने चेतावनी दिए । नेता रोकायाले संकटको यो अवस्थाबाट नेपाली कांग्रेसले मात्रै टार्न सक्ने बताए । जनता कम्युनिष्टका कारण आजित भैसकेका कारण अब संविधान र राष्ट्रको रक्षा गर्दै कांग्रेसले लोकतान्त्रिक व्यवस्था बचाउँने बताए ।

महाधिवेशन प्रतिनिधि प्रतिमा शाहीले अहिलेको अवस्थामा बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात गर्न जरुरी रहेको बताइन् । बाह्य र आन्तरिक शक्तिहरुसँग समन्वय र सहकार्य गरेर राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात गर्दै कांग्रेसको काँधमा फेरी एक पटक राष्ट्रिय सार्वभौमता, राष्ट्रिय स्वाधिनता, राष्ट्रियता, संविधान र लोकतनत्रको रक्षा गर्ने जिम्मेबारी आएको उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ