arrow

आन्दोलन विकल्पहीन विकल्प 

logo
प्रमोदहरी गुरागाँई
प्रकाशित २०७७ पुष २५ शनिबार
pramodhari-guragain.jpg

जब नेतृत्वमा सत्ता प्रतिष्ठाको हठ निर्माण हुन्छ । तब तय हुन्छ उल्टो मार्ग । हठले क्षमाशिल गुणको नष्ट गर्दछ र विकास हुन्छ प्रतिशोधको । हठपूर्ण सवार, सिंहवाही यात्रा जस्तै हो । सिंहको पिठ्यूमा बसुन्जेल त मजै हुन्छ । ओर्लने बित्तिकै सिंहकै आहार हुनुपर्छ । इहलिला समाप्त हुन्छ । खुच्चिङ्गको बाढी उर्लन्छ । विचरा भनिदिने जमात पनि बाँकी हुदैन ।

हिटलर, स्टालिन, सद्दाम हुसेन, गद्दाफी, नेपोलियन बोनापार्ट आदि अन्तराष्ट्रिय तहमानै खुच्चिङ्गमा परेका पात्रहरू हुन् । नेपालको सन्दर्भमा निरंकुश राणातन्त्र, एकदलीय पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्य आदिमा समकालीन समयको सत्ताको नेतृत्वमा रहेका पात्रहरूको उल्टो मार्गको यात्रा जिम्मेवार छ ।

समय परिवर्तनशील छ । समयक्रममा नै सामाजिक, सांस्कृतिक रुपान्तरण हुन्छ । कोहि कसैले नचाहदैमा रुपान्तरणको गति रोकिदैन । परिपक्वता निर्माण नभइ वेगवान रुपान्तरण संभव पनि छैन । निसास्सिदो वातावरणको अन्त्यको निमित्त समयलेनै नेतृत्व र मार्गको निर्माण गर्दछ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला आदि समयले निर्माण गरेका आदरणीय नेतृत्वहरु हुन् । राणा, पञ्चायत र राजाको निरंकुशता नभएको भए, उल्लेखित व्यक्तित्वहरु आदरणीय र स्मरणीय कृतिको रुपमा सम्भवत निर्माण नहुन सक्थे ।

समाज विकासको क्रम जंगली युग हुँदै सभ्य युगमा आइपुगेको हो । अनुसन्धानहरुले पुष्टि गरेको छ । जंगली युगमा हातहतियार, सैनिक बलको आधारमा निरंकुशताको निर्माण हुन्थ्यो । यो सभ्य युगमा निरंकुशताको निर्माण जनमत (मतदान)द्वारा निर्माण भएको नेतृत्वको सनक वा लहडले हुन्छ । अर्थात्, लोकतान्त्रिक बिधिद्वारा निर्माण भएको नेतृत्वको विवेकको अन्त्यसँगै निर्माण हुन्छ निरंकुश चित्र र व्यबहार बन्दछ निरंकुशता । स्मरणीय छ, लोकतन्त्रको जग जनमत, जनमतद्वारा निर्माण भएको संसदीय अंक गणितको बहुमत र बिधिको शासन हो । लिखित वा अलिखित अनुशासन भन्दा विवेक सर्वोपरि हुन्छ । विवेक मारेर दुई तिहाइको गणितमा निर्माण गरिएका निरंकुश विधानको आयु पनि चिरायु हुँदैन । तर दुःख पाउछ नागरिकले । वर्वादी हुन्छ समय र शक्तिको । तसर्थ राजनीति गणितीय विषय मात्र होइन । राजनीतिको अपरिहार्य शर्त विवेकपूर्ण निर्णय र कार्यान्वयन नै हो ।

देखिने मानिस र नदेखिने मानिसको परिचयको समग्रता हो, सिङ्गो मानिस । शरिरको लम्बाइ, बनौट, तौल देखिने मानिस हो । नदेखिने मानिस अर्थात् उसले प्राप्त गरेको सामाजिकिकरणको प्रकृयाबाट निर्मित साँस्कृतिक मानिस । व्यक्तिको आजको व्यवहार, उसले हिजो प्राप्त गरेको संस्कारको प्रतिबिम्ब र भोलिको द्योतक हो । कमै मानिसमा मात्र आफुलाई अधिक परिवर्तन गर्न सक्ने योग्यता हुन्छ । नत्र परिवर्तनमा लगाव राख्ने मानिसले लगभग दश प्रतिशतको हाराहारीमा मात्रै आफुलाई परिमार्जित गर्न सक्दछ ।

पेट भरिको खाना, आङभरिको नाना, समकालीन सुख आदि प्राप्त गरेका बिपी कोइराला, गणेशमान सिंहलाई व्यक्तिको स्वतन्त्रताको भोक जाग्यो र होमिए राजनीतिमा । सहअस्तित्वको खोजी र क्षमाशिलताको बीज अभावमा पैदा हुँदैन । मनोबैज्ञानिक विषय हो । नेपाली कम्युनिस्ट आन्दोलनमा देखिने प्रतिशोधको भावना, अभावग्रस्त जमिनमा निर्मित दुषित ग्रन्थिको परिणाम त हैन ?

असंवैधानिक र अलोकतान्त्रिक कदम
विघटित प्रतिनिधि सभाको सन्दर्भमा सडकदेखि सम्मानित अदालतमा बहस चलिरहेको छ । संविधानको धारा ७६ मा मन्त्रिपरिषदको गठन सम्बन्धि स्पष्ट व्यवस्था र व्याख्या छ । ७६(१)मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रावधान छ । ७६(२)मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । ७६(३)मा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेमा, राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ । अल्पमतको प्रधानमन्त्रीले तीसदिन भित्र विश्वासको मत प्राप्त गर्नु पर्नेछ । यस्तो अवस्थामा पनि ७६(२) बमोजिम कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।७६(५)मा यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि छ महिना भित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरि निर्वाचनको मिति तोक्नेछ भनी उल्लेख छ । तसर्थ संविधानको धारा ७६को उपधारा १ देखि ७ सम्मको संवैधानिक व्यवस्थालाई लत्याएर प्रधानमन्त्रीको सनकमा हाम्रो प्रतिनिधि सभा भंग भएको छ । संविधानको संरक्षक महामहिम राष्ट्रपति, ओली डिजाइनको 'कु'मा सहभागी बन्नु भएको छ ।

चार पूर्व प्रधानन्यायाधीशहरुको विज्ञप्तिको तरंग 
प्रतिनिधि सभाको  विघटनको प्रावधान सन्दर्भमा चार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले 'देशको प्रजातन्त्र, कानुनी राज्य र विकासको लागि यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षणको लागि अनुरोध गर्नु भएको' विज्ञप्तिले तरंग निर्माण गरेको छ । यद्यपी न्यायालयमा विचाराधीन मुद्दामा पूर्व प्रधानन्यायाधीशहरुको विज्ञप्तिको नैतिक पक्ष पनि चासोको विषय बनेको छ ।

अपेक्षा दियो जस्तै नेतृत्व 
एक्काइसौं शताब्दीमा निरंकुशता ग्राह्य छैन। सभ्य समाज मौन बस्न सक्दैन । मौनता भित्रको संभावित तुफानलाई नेतृत्वले समयमै विचार पुर्‍याउनु पर्दछ । जनअपेक्षा छ, दियो जस्तै नेतृत्वको । दियो, जसले आफ्नो समयावधिमा शितल प्रकाश दिन्छ र शान्त विलय हुन्छ । अहंकार वा सनकमा कर्म गर्ने ओली नेतृत्वले खडेरीमा आगलागी गराउने जघन्य अपराध गरेको छ। 'नागा नाचे मैदान' युग सुहाउँदो सभ्यता होइन ।

अन्त्यमा, कम्युनिस्ट पार्टी नेकपा भित्रको केही नेताको जुङ्गाको लडाइँले नेपाल देशले बेमौसमी दुःख पाइरहेको छ । हामीले भुल्न हुँदैन, भुराजनीतिक संवेदनशील देश नेपालको उत्तरमा शक्ति सम्पन्न मित्रराष्ट्र चीन छ भने पूर्व, दक्षिण र पश्चिममा विशाल मित्रराष्ट्र भारत छ । वादको हिसाबले केन्द्रीकृत गणतन्त्रात्मक शासन पद्धति प्रयोग गरिरहेको चीन र संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै आएको भारतको क्रीडास्थल नेपाल भयो भने नेपाल र नेपालीको अस्तित्व के होला? नेपाल देश भित्रको दलहरुको संवैधानिक कर्ममानै नेपालको सार्वभौमिकताको बचाउ र उन्नति हुन्छ । तसर्थ अभिभावक पार्टी नेपाली कांग्रेसले देश, संविधान र जनहितको रक्षार्थ संचालन गरिरहेको आन्दोलनमा जनऐक्यबद्धता जरुरी छ ।

(लेखक नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ