- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो ।
आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
यसको पुनःनिर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ ।
दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ ।
प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो ३ देखि ५ बजेसम्म खुला रहनेछ ।
यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।
गोरखा भूकम्पको आलो घाउ उस्तै छ । मर्ने मरेर गए । त्यसपछि राजनीतिले गर्दा पीडितका चहर्याएका घाउमा मल्हम लगाउने भएनन् ।
सक्नेले फेरि घर ठड्याए । राजनीतिक पहुँच हुनेले पनि ठड्याए । नहुलेले वर्षौं थोत्रो पालमा बस्न वाध्य भए । सरकारले प्रचारप्रसारका नाममा करोडौं रुपैयाँ खर्च गरिरह्यो । अहिले पनि खर्च गरिरहेको छ ।
तर पीडितका घाउ अझै आलै छन् । पहुँच भएकालाई मनपरी रकम बाँड्यो । पहुँच नभएकालाई नियममा कस्यो ।
पुनर्निर्माणका नाममा करोडौं रुपैयाँको हिनामिना पारियो । सम्पदाको पुनर्निर्माण गर्दा त्यसको मर्म नै मारियो । धरहराको स्वरुप नै फेरियो ।
सरकार व्यापारमा लाग्यो । तर पीडित अझै पीडामा छन् । घाइतेको त सरकारले तथ्यांकसमेत राख्न सकेन ।