arrow

प्रदेश सरकारबारे छलफलमा कांग्रेस: मुख्यमन्त्रीमा आफ्नै उम्मेदवार अघि सार्ने तयारी

logo
युवराज गौतम
प्रकाशित २०७७ माघ ८ बिहिबार
Nepali-Congress-Leaders.jpg.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएर प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढ्दै गर्दा कांग्रेसले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्ने सम्भावना बढ्दै गएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष निकट प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्ई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध प्रदेश सरकारमा नेकपाकै अर्को समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहबाट अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

सो समूहले प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यको नाम मुख्यमन्त्रीका लागि अघि सारिसकेको छ । यि दुबै प्रदेशमा निर्णयको चाबी कांग्रेसकै हातमा पुगेको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएर एक अर्का बिरुद्ध दुबै समूह हस्ताक्षर अभियानमा नै अघि बढ्दै गर्दा प्रमुख विपक्षीका रुपमा रहेको कांग्रेस समक्ष दुबै समूहबाट सत्ता समीकरणको प्रस्ताव समेत आइसकेको छ ।

प्रधानमन्त्री निकट समूह र प्रचण्डमाधव समूहबाट सत्तासमीकरणका लागि औपचारिक रुपमै प्रस्ताव आएपछि कांग्रेसले सो बारे सम्वन्धित प्रदेशका नेता तथा प्रदेश सांसदहरुसँग छलफल अघि बढाएको हो ।

छलफलका क्रममा संसद विघटन गराएर असंवैधानिक काम गरेका प्रधानमन्त्रीको पक्षलाई नै सेतो झण्डा देखाउने गरी साथ दिन नहुने पक्षमा कांग्रेस नेताहरु देखिएका छन ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा प्रदेश १ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरु र सो प्रदेशका प्रदेश सांसद लगायतका नेताहरुसँग छलफल भएको थियो ।

छलफलका क्रममा प्रदेश १ का शेरधन राईको पक्षमा पार्टीलाई लैजान नहुने र त्यसो गर्दा पार्टीलाई पछिसम्म हानी पुग्ने भन्दै केही नेताहरु आफ्नै उम्मेदवार तयार गर्नुपर्ने पक्षमा उभिए ।

तर सभापति देउवा भने प्रदेश १ का ओली निकट हालका मुख्यमन्त्री राईलाई नै सघाएर बागमती प्रदेशमा आफ्नो पक्षका उम्मेदवारलाई अघि बकढाउने ‘मुड’मा देखिएका थिए ।

तर बैठकमा सहभागी नेता कृष्णप्रसाद सिटौला र डा। शेखर कोइराला, डा. मिनेन्द्र रिजालसहित पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ओली पक्षका मुख्यमन्त्रीलाई सघाउनु भन्दा अविश्वासको प्रस्ताव दर्ता गर्ने समूहलाई सघाउनु पार्टीका हितमा हुने धारणा राखे । त्यसो नुहँदा बरु आफ्नै उम्मेदवार तयार गरेर अघि सार्न सकिने राय बैठकमा उनीहरुले राखेका छन ।

यसैगरी बागमती प्रदेशमा पनि संसद विघटन गर्ने ओली समूहको पक्षलाई नै सघाउदा विघटनमा साथ दिएको जस्तो देखिने भन्दै सके आफ्नै समूह अघि बढाउने नभए अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षलाई साथ दिनेतर्फ छलफल अघि बढाउनु पर्नेमा जोड दिए ।

कांग्रेसले नेकपाका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएर नेकपाका दुबै समूहले मुख्यमन्त्री पदका लागि प्रस्ताव गरेपछि छलफल थालेको हो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, विश्वप्रकाश शर्मा, गुरु घिमिरेलगायत थिए । 

प्रदेश १ मा हालकै मुख्यमन्त्रीलाई छाड्ने र बागमतीमा कांग्रेसले लिने कि भन्ने मुडमा सभापति देखिनु भएको छ, तर अन्य धेरै नेताहरु ओली पक्षको विपक्षमा देखिनुभयो,’ बैठकमा सहभागी एक नेताले हाम्राकुरासँग भने । कांग्रेस नेताहरुले प्रदेश १ का नेताहरुसँगको छलफलपछि बागमती प्रदेशका नेताहरुसँग समेत बुधबार नै छलफल गरेका थिए ।

नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकोमा ति दुबै प्रदेशमा अविश्वासको प्रस्ताव अघि बढ्दा कांग्रेस निणर्यक शक्तिका रुपमा रहन्छ ।

यसअघि समेत देउवाले दुबै समूहबाट आएको प्रस्तावका विषयमा गत ५ माघमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गरेका थिए । उनले बोहोराटारस्थित पौडेल निवासमै पुगेर पौडेललाई भेटेका थिए ।

यसैगरी गत २ माघमा महामन्त्री डा.शशांक कोइरालालाई बुढानिलकण्ठस्थित निवासमै बोलाएर देउवाले प्रदेश सरकारको समिकरणका बारे छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्बाङले प्रदेश सरकारको समिकरणबारे कांग्रेससहितका प्रतिपक्षी दलसँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

‘हामी निरन्तर संवादमा नै छौं, कांग्रेससँग मात्रै होइन प्रतिपक्षमा रहेका अन्य दलसँगको संवाद पनि निरन्तर छ, निर्णय भने भइसकेको छैन,’ नेकपा नेता नेम्बाङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ