काठमाडौं । पटक पटक मिति तोक्दा पनि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन अहिले तोकिएको मितिमा पनि हुन्छ भन्नेमा विद्यार्थी नेताहरु विभाजित देखिएका छन् । संघका अधिकांश नेता तथा कार्यकर्ताहरु आगामी साउनको २३ गते देखि गर्ने तय भएको महाधिवेशन हुने संभावना देख्छन भने केही नेताहरु आशंका व्यक्त गर्दछन् ।
आगामी महाधिवेशनका लागि अध्यक्षका आकांक्षी मनोजमणी आचार्य महाधिवेशन हुने आधारहरु धेरै रहेको बताउछन् । उनी भन्छन्, “काँग्रेसले ६ महिना भित्र सवै भातृ संगठनहरुको महाधिवेशन गर्ने निर्णय गर्यो, त्यो समयावधिभित्र भएन भने सवै संगठन विघटन हुने भएकाले र अन्य पार्टीकाले पनि महाधिवेशनका बारेमा प्रश्न गर्न थालेकाले नेविसंघको नेतृत्व नै अहिले महाधिवेशन गर्न लागिपरेको छ । ”
त्यसैगरी मुलुकको सवै भन्दा ठुलो र सवै भन्दा पुरानो लोकतान्त्रीक पार्टीको भातृ संगठनको महाधिवेशन लामो समयदेखि नहुदा पार्टीका नेताहरु माथी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नैतिकताको प्रश्न र दवाव परेकाले पनि यस पटक महािधवेशन हुने उनको विश्वास छ । नेता आचार्यले विवाद भएका ठाउमा भने सकेसम्म अधिवेशन गर्ने र नसकेमा अस्थायी समाधान खोजी महाधिवेशन गर्नु सुझाव पनि दिए ।
अध्यक्षका अर्का आकांक्षी जितजंग बस्नेतलाई पनि महाधिवेशन हुन्छ भन्ने लागेको छ । “६४ जिल्लाको अधिवेशन भईसकेको भनिएको छ । बाँकी जिल्लाको अधिवेशनका लागि पनि झण्डै पौने दुई महिना समय छ, यो अवधिमा ति जिल्लाहरुको अधिवेशन गर्न सकिन्छ । त्यसैले महाधिवेशन हुने संभावना देख्दछु” बस्नेतले हाम्राकुरासंग भने ।
अध्यक्षकै अर्का दुई आकांक्षी कुन्दनराज काफ्ले र रामप्रसाद अधिकारीलाई भने महाधिवेश हुनेमा आशंका छ । “संघको तर्फबाट ६४ जिल्लाको अधिवेशन गरिएको भएपनि ४१ जिल्लामा मात्रै अधिवेशन विवाद रहित छ । विवादित जिल्लाहरुमा निश्पक्ष तरिकाले अधिवेशन गर्न र प्रतिनिधिहरुको छनौट गर्न नेतृत्वले आँट र उदारता देखाए महाधिवेशन हुन्छ नत्र भन्न सकिन्छ,” काफ्लेले भने । महाधिवेशन गर्ने जिम्मेवारी पाएका नेताहरु पार्टीका कुनै नेताको र कुनै गुटको नेता हुनु भन्दा नेविसंघको नेता हुन सके भने महाधिवेशन हुने उनको बुझाई छ ।
नेता अधिकारी त महाधिवेशन हुने आधार नै छैन भन्छन् । महाधिवेशनमा आउने कुल २१ सय प्रतिनिधिहरु मध्ये झण्डै ६ सय भन्दा बढी प्रतिनिधि मापदण्ड विपरितका हुने खतरा औल्याउदै उनले विद्यार्थी संगठनको नेतृत्व विद्यार्थी प्रतिनिधिहरुले नै छान्नु पर्ने तर्क गर्छन््।
अहिले प्रतिनिधि रहेका मध्ये कतिपय विदेश गएको र कतिपय पार्टीको जिम्मेवारी तर्फ लागेकाले उनीहरुको सट्टामा अरु विद्यार्थीले भाग लिन पाउनु पर्ने अधिकारीको भनाई छ ।
गैरविद्यार्थीहरुबाट विद्यार्थीहरुको नेतृत्व छान्न खोजियो भने अधिवेशन फेरी पनि धरापमा पर्ने उनले आशंका गरे ।
अधिकारीले भने झै ६४ जिल्लाको विवरणमा पुर्नविचार गर्नु पर्नेमा महामन्त्रीका आकांक्षी डिल्ली सुदेवीपनि सहमत छन् । तर त्यसलाई फेरी अधिवेशन गर्ने भन्दा पनि कार्यदल बनाएर निर्णय गर्नु उपयुक्त हुने सुवेदीको सुझाव छ । उनले भने, “अहिले पार्टी र संघ दुवैको नेतृत्व महाधिवेशन गराउने पक्षमा देखिएकाले यस पटक चाहिं म निर्धारित समयमै अधिवेशन हुने संभावना देख्छु । ”
केहीदिन अघि सकिएको संघको बैठकले ११औं महाधिवेशन आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । बैठकले विवादित जिल्ला तथा क्याम्पसका विवादित विषय मिलाउनको लागि एउटा छुट्टै कार्यदल गठन गर्ने, आगामी कार्यसमिति १ सय ५१ सदस्यीय हुने लगायतका निर्णय पनि गरेको थियो ।
झण्डै एक दशक देखि संघको महाधिवेशन हुन सकेको छैन भने ६ महिनामा महाधिवेशन गर्ने जिम्मेवारी सहित मनोनित भएको रन्जीत कर्ण नेतृत्वको केन्द्रीय समिति पनि ६ बर्ष लाग्न थालेको छ ।